तिलोत्तमा नगरपालिका लगातार दुई पटक उत्कृष्ट

नगर प्रमुख रामकृष्ण खाँणका अनुसार, विकासका पाँचवटै क्षेत्रहरू आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासमा नतिजामूलक काम गरेका कारण तिलोत्तमा लगातार उत्कृष्ट बनेको हो ।

भाद्र ७, २०८२

सन्जु पौडेल

Tilottama Municipality excels twice in a row

तिलोत्तमा — नगरपालिका लगातार दोस्रोपटक उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा नगरपालिका उत्कृष्ट ६ मा छनोट भएको हो । साथै, लुम्बिनी प्रदेशमा यसले पहिलो स्थान हासिल गरेको छ ।

अघिल्लो आर्थिक वर्ष पनि तिलोत्तमा उत्कृष्ट स्थानीय तह घोषित भएको थियो । नगर प्रमुख रामकृष्ण खाँणका अनुसार, विकासका पाँचवटै क्षेत्रहरू आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासमा नतिजामूलक काम गरेका कारण तिलोत्तमा लगातार उत्कृष्ट बनेको हो ।

दुई पटकसम्म नगरपालिकालाई अब्बल बनाउन तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले महत्वपूर्ण योगदान गरेको नगर प्रमुख रामकृष्ण खाँणले बताए । परियोजना बैंक निर्माण र नगरपालिकाको आयोजना वर्गीकरण (प्राथमिकता प्राप्त, नगर गौरव र नगरस्तरीय स्वर्णीम आयोजना)मा अर्यालले ल्याएको नवीन सोंचले पालिकालाई अब्बल बनाएको उनले बताए ।

मन्त्रालयले हरेक वर्ष ९ क्षेत्रहरू, शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वयको कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ ।

यी सबै सूचकहरूमा तिलोत्तमा नगरपालिकाले १०० मा ९७.२५ प्रतिशत अंक प्राप्त गरेको खाँणले बताए । नगरपालिकाले कुल २६ वटा सूचकमा उत्कृष्ट काम गरेको उनले जानकारी दिए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully