सिमलपानीमा चितुवाको आक्रमणबाट १५ बाख्रा मरे 

मृत अवस्थामा फेला परेका बाख्राको घाँटी र पछाडिको भागमा घाउ बनेका छन् ।

भाद्र ७, २०८२

वीरेन्द्र केसी

15 goats died due to leopard attack in Simalpani

अर्घाखाँची — चितुवाको आक्रमणबाट शीतगंगा नगरपालिका–१३ सिमलपानीको मुस्यान माझीफाँट गाउँमा रहेको हिमालयन बाख्रापालन तथा कृषि फार्मका १५ वटा बाख्रा मरेका छन् ।

बुधबार दिउँसो फार्म नजिकै जंगलमा बाख्रा चराउने क्रममा ३० वटा बाख्रा हराएका थिए । शुक्रबारसम्म खोज्ने क्रममा १५ वटा जीवित बाख्रा भेटिए । १५ वटा जंगलमै मरेको भेटिएको सिमलपानी प्रहरी चौकीले जनाएको छ ।  

घाइते भेटिएको एउटा बाख्रा पनि मरेको फार्मका सञ्चालक घनश्याम अधिकारीले बताए । 'खोरबाट जंगलमा लगेर सधैं बाख्रा चराउने गरिन्थ्यो, बुधबार चितुवाले आक्रमण गरेको हो,' उनले भने । मृत अवस्थामा फेला परेका बाख्राको घाँटी र पछाडिको भागमा घाउ बनेका छन् । फार्मबाट झन्डै एक किलोमिटरको दुरी जंगलमा बाख्रा मृत अवस्थामा फेला परेको उनले बताए । फार्म नजिकै रहेको देउराली–पारे सामुदायिक वनमा चितुवाले आक्रमण गरेको हो । 

दुई वर्ष अगाडि १२ लाख लगानीमा बाख्रा फार्म खोलेको उनको भनाइ छ । बाख्रासँगै फार्ममा कुखुरा र बंगुर पनि पालिएको छ । अहिलेसम्म फार्ममा ३५ लाख रुपैयाँभन्दा बढीको लगानी भएको अर्का सञ्चालक विष्णु पौडेलले बताए । यही जेठमा मात्रै १२ सय ब्रोइलर कुखुरा एकै दिन मरेको उनले बताए । उनीसहित ५ जना युवाको समूहले फार्म खोलेर पशुपालन गरेका थिए । यसरी लगातारको क्षतिले फार्म सञ्चालक चिन्तित बनेका छन् ।

वीरेन्द्र केसी

Link copied successfully