आगमन र प्रस्थान क्षेत्रमा रहेका यात्रु बस्ने सिट दोब्बर बनाउन नयाँ डिजाइन गरिएको छ ।
What you should know
भैरहवा — रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गतको जीर्ण साँघुरो आन्तरिक टर्मिनल भवन विस्तार र स्तरोन्नति गरिने भएको छ ।
विमानस्थल सुरक्षा समितिको बिहीबार बसेको बैठकमा आन्तरिक टर्मिनलको विस्तार र स्तरोन्नतिका लागि तयार गरिएको डिजाइन र यसको निर्माण चरणका बारेमा प्रस्तुतीकरण र छलफल गरिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थल सुरक्षा समिति र सरोकारवालाबीच बैठकमा आन्तरिक टर्मिनलको प्रस्तावित डिजाइन प्रस्तुतिकरणसँगै निर्माण प्रक्रियाबारे छलफल गरिएको हो । ‘अहिले रहेको आन्तरिक टर्मिनल जीर्ण र साँघुरो छ,’ उनले भने, ‘उपलब्ध साधन स्रोत प्रयोग गरेर अपग्रेड गर्ने क्रममा छौं ।’
उनका अनुसार आगमन र प्रस्थान क्षेत्रमा रहेका यात्रु बस्ने सिट दोब्बर बनाउन नयाँ डिजाइन गरिएको छ । साथै यात्रु प्रस्थान कक्षमा नयाँ स्तनपान कक्ष, बच्चाहरुको डाइपर परिवर्तन कक्ष, फराकिलो र आरामदायी शौचालय, क्याफे, किनमेलका लागि पसल, ल्यापटपमा काम गर्न मिल्ने कक्ष, बच्चाहरुको खेल सामग्री, चार्जिङ स्टेसनसहित हरियाली क्षेत्र पनि निर्माण गरिने उनले बताए । एकैपटक एटीआर र क्याटोगरी जहाजका यात्रु अट्न मिल्नेगरी नयाँ हल निर्माण गरिने उनको भनाइ छ ।
अहिले रहेको टर्मिनल भवनको छाना निर्माणको बाँकी काम पूरा गर्नुका साथै बुद्ध जन्मस्थल लुम्बिनीको वास्तुकलासित मेल खानेगरी पुरानो भवनको आउटलुक निर्माणको तयारी भइरहेको उनले बताए । ‘पुरानो संरचनामै विकास र विस्तार गरेर नयाँ सुविधायुक्त टर्मिनल तयार गरिने छ,’ उनले भने, ‘नयाँ टर्मिनलले यात्रुको सेवा सुविधाको अपेक्षा पूरा गर्दै न्यूनतम आठ वर्षसम्म विमानस्थलको ट्राफिक माग पूरा गर्ने विश्वास छ ।’
