नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपा नेता कँडेलसहित थप एक पक्राउ

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–५ पदमपुरका ५० वर्षीय हरिप्रसाद कँडेल रहेका छन् । कँडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश प्रशिक्षण विभाग प्रमुखसमेत हुन् ।

भाद्र ६, २०८२

घनश्याम गौतम

One more arrested along with RSVP leader Kandel in fake educational certificate case

बुटवल — रुपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । यसअघि भैरहवाबाट एक जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–५ पदमपुरका ५० वर्षीय हरिप्रसाद कँडेल रहेका छन् । कँडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश प्रशिक्षण विभाग प्रमुखसमेत हुन् । 

यसअघि पक्राउ परेका भारतको कानपुर निवासी अभिषेक यादवले दिएको सूचनाका आधारमा रूपन्देही प्रहरीले कँडेललाई बिहीबार चितवनबाटै पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार कँडेललाई बिहीबार राति चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको हो । उनी कलेज कोर्ष नेपाल प्रालिका सञ्चालक पनि हुन् ।

यसअघि साउन ३० गते भारतको कानपुर निवासी २५ वर्षीय अभिषेक यादवलाई रुपन्देही प्रहरीले हजारौं नक्कली शैक्षिक प्रमाणपत्र, स्ट्याम्प, होलोग्राम र स्टीकरसहित पक्राउ गरेको थियो । यादवले बयानमा कँडेलको संलग्नता देखाएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार चितवनमा शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका कँडेलले त्यही माध्यमबाट नक्कली प्रमाणपत्र बनाउने र कारोबार गर्दै आएको अनुसन्धानमा खुलेको छ । कँडेल यसअघि अख्तियारले गरेको अनुसन्धानमा पनि शिक्षक हुन अयोग्य ठहर भएका थिए । अख्तियारको कारबाहीपछि उनले शिक्षण पेसा छोडेका थिए ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully