सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध

सिद्धबाबा क्षेत्रमा पहिरोका कारण सयौँ सवारी साधन र यात्रु बीच बाटोमै रोकिएका छन्।

भाद्र ६, २०८२

माधव अर्याल

Blocked Palpa-Butwal road section of Siddharth Highway

पाल्पा — वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड राति सवा १ बजेदेखि अवरुद्ध भएको छ । उत्तर–दक्षिण जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको ढुंगा–माटोसहितको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

सिद्धबाबा सुरुङमार्ग निर्माण भएको क्षेत्रमा खसेको पहिरो पन्छाउन वर्षा नरोकिएकाले समस्या भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक अझै खुलेको छैन । वर्षासँगै ढुंगा झर्ने र ढुंगासहितको माटो, लेदो झर्ने भएकाले वर्षा रोकिएपछि सडक खोलिनेछ ।

अवरुद्ध सडक सञ्चालन गर्न वर्षा नरोकिएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । वर्षा नरोकिएकाले तल्लो सिद्धबाबा र दोभान प्रहरी चौकी क्षेत्रमै सवारी साधन रोकिएको छ । प्रहरीले यात्रु तथा सवारी साधनमा क्षति नपुगोस् भनेर सिद्धबाबा क्षेत्रमा पानी पर्दा सवारी साधन चल्न दिएको छैन ।

सिद्धबाबा क्षेत्रमा राजमार्ग अवरुद्ध हुँदा पहाडबाट तराई झर्ने र तराईबाट पहाड हिँडेका सयौँ सवारी साधन सडकमै अलपत्र परेका छन् । पाल्पाको सिद्धबाबा क्षेत्र अवरुद्ध हुँदा पाल्पाबाहेक गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका गन्तव्यमा पुग्ने सवारी साधन र यात्रुले सास्ती खेप्नु परेको छ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully