८ घण्टापछि सिद्धार्थ राजमार्ग सञ्चालनमा

पाल्पाको तिनाउ गाउँपालिकाको सिद्धबाबा क्षेत्रमा पहिरो पन्छाएर अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

भाद्र ६, २०८२

माधव अर्याल

After 8 hours, Siddharth Highway is operational

पाल्पा — शुक्रबार बिहान सवा १ बजेदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड सञ्चालनमा भएको छ।राजमार्गअन्तर्गत पाल्पा–बुटवल खण्डको सिद्धबाबा क्षेत्रका विभिन्न स्थानमा ढुंगा, माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

वर्षा रोकिएपछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको हेभी मेसिनले सडकमा खसेको पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी पवन कुमार भट्टराईले जानकारी दिए।

राजमार्गको पाल्पा तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रको नागडाँडा, ड्यामसाइड, सिद्धबाबालगायतका स्थानमा ढुंगा, लेदो, माटोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। यस क्षेत्रमा निरन्तर वर्षा हुँदा सडकमा ढुंगा खस्ने समस्या छ।

सडकमा खसेका ढुंगा सहितको पहिरो पन्छाउन माथिल्लो क्षेत्रबाट खस्ने ढुंगाका कारण समस्या हुने गरेको प्रहरीले जनाएको छ। पानी पर्ने समयमा माथिल्लो क्षेत्रबाट ढुंगा, माटोसहितको पहिरो खस्ने समस्या वर्षौदेखि रहेको छ।

सडक अवरुद्ध हुँदा रोकिएका पहाडबाट तराई झर्ने र तराईबाट पहाड हिडेका सयौं सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरी चौकी दोभानले जनाएको छ।

राजमार्ग अवरुद्ध हुँदा पाल्पाबाहेक गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका गन्तव्यमा पुग्ने सवारी साधन र यात्रुले सास्ती खेपिरहेका थिए।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully