बर्दियामा समस्याग्रस्त चितुवा नियन्त्रणमा लिइयो

चितुवालाई नियन्त्रणमा लिएर बर्दिया निकुञ्ज लगिएको छ ।

भाद्र ४, २०८२

कमल पन्थी

A troublesome leopard was captured in Bardia

बर्दिया — समस्याग्रस्त चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले बुधबार बेलुकी पौने ६ बजे नियन्त्रणमा लिएको छ । डिभिजन वन कार्यालय अन्तर्गत मधुवन नगरपालिका–२ सोनाहा फाटासँग जोडिएको चमेली गौरी सामुदायिक वनमा रहेको समस्याग्रस्त चितुवा खोज्न ५ वटा हात्ती परिचालन गरिएको थियो ।

चितुवाको झाडीमा रहेको भन्दै स्थानीय त्रसित भएका छन् । चितुवा नियन्त्रणमा लिएपनि त्रास अझै रहेको स्थानीयले बताए ।

करिब ४ घन्टापछि वयस्क भाले चितुवा निकुञ्ज प्रशासनले नियन्त्रणमा लिएको हो । झाडीमा बसेको समस्याग्रस्त चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जका प्राविधिक टोलीले डार्टिङ गरी (बेहोस पारी)  नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी एवम् वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडलले बताए । १ सय ९० मिटर लम्बाइ रहेको चितुवालाई नियन्त्रणमा लिइ बर्दिया निकुञ्ज लगिएको छ ।   

बुधबार दिउँसो समस्याग्रस्त चितुवा खोज्न गएको हात्तीमाथि नै चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणमा दुई हात्तीलाई चिथोरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी खटिएका थिए । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully