भन्सार छलीमा ६१ तोला सुनको कारोबारमा संलग्न दुईजनाविरुद्ध २ करोड ६२ लाखभन्दा बढी जरिवाना लागाइएको छ।
What you should know
बुटवल — राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व चुहावट सम्बन्धी कसुरमा दुई जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा अभियोग पत्र दर्ता गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का रामबहादुर विक र भारतको पञ्जाबस्थित अमृतसर निवासी कुलदीप सिंहले भन्सार प्रज्ञापन तथा आवश्यक कागजातबिनै भन्सार चोरी गरी सुनका गरगहनाहरूको कारोबार गरेको भन्दै कार्यालयले उनीहरू विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरेको हो ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले उनीहरू माथि राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको बताए । ‘कुलदिप सिंह र रामबहादुर विकले भन्सार प्रज्ञापन तथा आवश्यक कागजातबिनै ६१ तोला सुनका गरगहना भन्सार छली गरी राजस्व चुहावट गरेको अनुसन्धानमा देखिन्छ,’ उनले भने, ‘त्यसबापतको सजाय र जरिवाना स्वरूप दुई करोड ६२ लाख ७१ हजार २९ रुपैयाँ माग दाबीसहित मुद्दा दर्ता गरिएको हो ।’
सिंहले भन्सार छली गरी एक करोड पाँच लाख आठ हजार चार सय एघार रुपैयाँ ३० पैसाबराबरका सुनका गरगहनाको कारोबार गरेको उनले बताए । मुद्दाको अभियोग पत्रमा मुख्य अभियुक्त सिंहलाई बरामद गरिएका सुनका सबै गरगहना जफत गरी सो बराबरको एक करोड पाँच लाख आठ हजार चार सय एघार रुपैयाँ ३० पैसा जरिवाना रकम र कैद सजायको माग गरिएको छ ।
सोही कार्यमा सहभागी भएर मतियारको भूमिका खेलेका रामबहादुर विकलाई ऐनको दफा २३ को उपदफा ३ अनुसार आधा सजाय माग गरिएको छ । विकलाई ५२ लाख ५४ हजार २०६ रुपैयाँ जरिवाना कायम गरिएको छ । दुवै प्रतिवादीमाथि माग गरिएको कुल जरिवाना तथा सजाय रकम दुई करोड ६२ लाख ७१ हजार २९ रुपैयाँ पुगेको घिमिरेले बताए ।
