तरकारी बेचेरै कमाउँछन् विद्यार्थी, व‍िपन्न र जेहेन्दारलाई बाख्रा

पढ्दै कमाउँदै कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा दिँदै, कृषि उत्पादनबाट आर्थिक लाभ लिन लिन सहयोग पुगेको छ।

भाद्र ३, २०८२

सुमनजंग थापा

Goats are earned by selling vegetables to students, poor and poor

What you should know

पर्वत — गरिब तथा जेहेन्दार विद्यार्थीलाई बाख्रा प्रदान गर्दै आएको यहाँको एक विद्यालयका विद्यार्थीहरूले वनमा पाइने निउरो बेचेर आर्थिक आम्दानी गरेका छन् । मोदी गाउँपालिका–४ क्याङस्थित कर्बाकेली आधारभूत विद्यालयका विद्यार्थीहरूले वनमा खेर गइरहेको निउरो टिपेर बजारमा बिक्री गरेका हुन् ।

‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत स्थानीय विषयको प्रयोगात्मक कक्षा अन्तर्गत विद्यार्थीहरूलाई कृषि उत्पादन र त्यसको बजारीकरणका बारेमा व्यवहारिक ज्ञान दिने गरिएको छ । 

विद्यार्थीहरूको समूहले सृजनशील बाल क्लब पनि गठन गरेका छन् । क्लबमा आबद्ध विद्यार्थीहरूले नै विद्यालयमा बनाइएको प्लास्टिकको टनेल र खाली जमिनमा मौसमी तथा बेमौसमी खेती गर्छन् । उनीहरूले वनमा पाइने निउरो, लप्सी, टुसाहरू सङ्कलन गरी बिक्री गर्दै आएका छन् । 

विद्यार्थीहरूले टमाटर, प्याज, घिरौँला, मुला, बन्दा, काउली, साग लगायतका तरकारीहरू पनि लगाउँदै आएका छन् । ‘हामीले वनबाट ल्याएको निउरो गाउँको घरघरमा डुलाउँदै बेच्यौं । विद्यालयको टनेलमा लगाएको टमाटर पनि केही दिन अघि बेच्यौं’, सृजनशील बाल क्लबकी अध्यक्ष निसमा सेपुर्जाले भनिन्, ‘तीस हजार रुपैयाँ आम्दानी भएको थियो । विद्यालयका सबै विद्यार्थीहरूका लागि टाई, बेल्ट र आइडी कार्ड खरिद गर्‍यौं ।’ 

गाउँमा हुने हरेक मेला महोत्सवमा विद्यालयले तयार पारेको कृषि उत्पादनहरू बिक्रीका लागि पुर्‍याउने गरिएको उनले बताइन् । ‘हामीले बनाएको लप्सी/मुलाको अचार, गुन्द्रक लगायतका परिकारहरु धेरै जनाले रुचाउनु हुन्छ । बिक्री पनि राम्रो हुने गरेको छ,’ उनले भनिन् ।

Goats are earned by selling vegetables to students, poor and poor

विद्यार्थीहरूलाई पढ्दै कमाउँदै कार्यक्रममा व्यवहारिक शिक्षा दिँदै आएको प्रधानाध्यापक दिपेन्द्र चापागाई बताउँछन् । उनले विद्यालयमा विद्यार्थी टिकाइ राख्न दाताहरूको सहयोगमा आम्दानीमूलक गतिविधिहरू गर्दै आएको बताए । 

विद्यालयमा कक्षा १ देखि नै स्थानीय पाठ्यक्रम पढाउने गरिएको छ । गाउँको मौलिकता, परम्परा र कृषिलाई पाठ्यक्रममा समेटिएको उनी बताउँछन् । ‘जनजाति समुदायको बाहुल्यता रहेको गाउँ हो । यहाँको मुख्य आम्दानी भनेकै कृषि र पशुपालन नै हो’, उनले भने, ‘गरिब तथा जेहेन्दार दुई जना विद्यार्थीलाई गत वर्षदेखि बाख्रा दिन सुरु गरेका छौं । सामान्य घर खर्चका लागि विद्यार्थीले विद्यालय छाड्नुपर्ने बाध्यतालाई यस अभियानले थोरै भए पनि रोक्ने विश्वास लिएका छौं ।’

सदरमुकाम कुश्मादेखि टाढा रहेको यस विद्यालयले गाउँलेको पेसा र गाउँको माटो सुहाउँदो कृषिलाई विद्यार्थीको दैनिकीसँग जोडेको छ । विद्यालय समयमा साना कक्षा देखि ठूला कक्षाका विद्यार्थीहरू विद्यालय पोसाकमा नै खेतबारीमा काम गरिरहेका भेटिन्छन् । 

विद्यार्थीहरू कृषि कर्ममा होमिन पाउँदा उत्साहित छन् । कक्षा ८ मा अध्ययनरत छत्रा लिविया फगामीले गत वर्ष बाख्रा प्राप्त गरेकी थिइन् । बाख्रा पाएपछि घरपरिवार पनि खुसी भएको उनले सुनाइन् । ‘आमाबुवा पनि धेरै खुसी हुनुभयो । राम्ररी पढ्नुपर्छ है, छोरी भन्नुभयो’, उनले भनिन्, अहिले बाख्रा ठूलो भइसकेको छ । अब धेरै बाख्रा बनाएर बेच्ने हो ।’

Goats are earned by selling vegetables to students, poor and poor

बाख्रा अभियान एकदमै राम्रो भएको अभिभावकहरू बताउँछन् । उनीहरू आर्थिक स्थितिमा थोरै भए पनि सुधार आउनेमा आसावादी छन् । ‘विद्यालयले विद्यार्थीको लागि किताबी ज्ञान मात्र नभएर उनीहरूका अभिभावकको आर्थिक स्थितिमा सघाउने काम पनि गरेको छ,’ अभिभावक उमा तिलीजाले भनिन् ।

कक्षा नर्सरी ए र बी देखी कक्षा ८ सम्म सञ्चालित विद्यालयमा ७३ जना विद्यार्थी अध्ययनरत छन् । साना विद्यार्थीहरूलाई फूलबारीमा फूल लगाउन सिकाउने गरिएको छ भने ठूला उमेरका विद्यार्थीहरूलाई तरकारी खेतीमा लगाइएको विद्यालयले बताएको छ । 

विद्यालय र विद्यार्थीका सुरक्षाका लागि सिसिटिभी जडान गरिएको छ । विद्यार्थीहरूलाई स्मार्ट बोर्डबाट अध्ययन गराइन्छ । विद्यालयमा कम्प्युटर ल्याब पनि रहेको छ । विद्यालयका शिक्षकहरूले आफ्नो जन्मदिनमा विद्यार्थीहरूको बाल क्लबलाई आर्थिक सहयोग पनि गर्दै आएका छन् । 

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully