त्रिभुवन विश्वविद्यालयका ट्रान्सक्रिप्ट, उच्च माध्यामिक शिक्षा परिषद्, राष्ट्रिय परीक्षा बोर्ड, सीटीईभीटी लेखेको होलोग्राम लगायतका कागजात प्रहरीले बरामद गरेको छ ।
What you should know
भैरहवा — नेपाल र भारतका विभिन्न विश्वविद्यालयका नामबाट नक्कली शैक्षिक प्रमाणपत्र तयार गरेर बिक्रीमा संलग्न आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको कानपुर नौaस्तीका २५ वर्षीय अभिषेक यादव पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार यादवको साथबाट नक्कली शैक्षिक प्रमाणपत्र, विभिन्न कागजपत्र, स्ट्याम्प (छाप), होलोग्राम, स्टिकर लगायत सामाग्री बरामद भएका छन् । गोप्य सूचनाका आधारमा जिल्ला र इलाका प्रहरी बेलहियाको संयुक्त टोलीले सिद्धार्थनगर–१, स्थित मुक्तिनाथ होटलबाट यादवलाई पक्राउ गरिएको क्षेत्रीले जानकारी दिए ।
नक्कली शैक्षिक प्रमाण तयार गर्ने गिरोह नै सक्रिय रहेको प्रहरीले अड्कल गरेको छ । ‘यादव नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोहका कर्मचारी हुन्,’ प्रहरी उपरीक्षक क्षेत्रीले भने, ‘नेपालबाट शैक्षिक अध्ययनका लागि विदेश जान यस्ता प्रमाणपत्र लागि प्रयोग हुने गरेको खुलेको छ ।’ यस्तो काममा संलग्न अन्यको व्यक्तिको पनि नाम खुलेको उनले बताए । नक्कली शैक्षिक प्रमाणपत्र निर्माणमा संलग्नबारे छानबिन तथा अनुसन्धान सुरु गरिएको उनले बताए ।
यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका ट्रान्सक्रिप्ट १ सय थान, ३६ वटा प्रमाणपत्र, होलोग्राम ४ हजार ४० थान, उच्च माध्यामिक शिक्षा परिषद् लेखेको होलोग्राम २ हजार थान, राष्ट्रिय परीक्षा बोर्ड लेखेको होलोग्राम १ हजार ७ सय ग्राम र सीटीईभीटी लेखेको होलोग्राम १ हजार ९ सय थान बरामद भएको प्रहरीले जनाएको छ ।
भारतको एमीटी (उत्तर प्रदेश) का ८० थान नक्कली मार्कसिट, ४० थान प्रोभिजनल सर्टिफिकेट, ६० थान चारित्रिक सर्टिफिकेट र ४९ वटा अन्य खाली प्रमाणपत्र र ४० थान खाली लोगो फेला परेको छ । नेपाल–भारत नाका ननिकैको होटलमा बस्नका लागि कोठा बुक गर्ने क्रममा यादवलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयका बेलहियाका प्रहरी निरीक्षक मुकेश न्यौपानेले बताए ।
न्यौपानेका अनुसार यादवबाट भारतको जवाहारलाल नेहरु टेक्निकल युनिभर्सिटी हैदराबाद, छत्रपति साहुजी महाराज युनिभर्सिटी, कानपुर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालयका सहित हजारौं नक्कली शैक्षिक प्रमाणपत्र बरामद भएका छन् । अवैध कारोबारका लागि प्रयोग भइरहेका विभिन्न विश्वविद्यालय तथा कार्यालयको नाम लेखिएका दर्जनौं नक्कली स्ट्याम्प र छाप, चारवटा पेनड्राइभ, एक थान एचपी कम्पनीको ल्यापटप, एक थान आइफोन, एक थान रियलमी मोबाइल, तीनवटा एटीएम कार्ड, भारु १८ हजार ५ सय रुपैयाा र नेपाली ३ हजार २५ रुपैयाँ पनि बरामद गरिएको छ ।
