थारु महिलाहरुले मनाए 'अष्टिम्की' पर्व 

अष्टिम्कीको पहिलो दिन थारु गाउँका घरका भित्तामा विभिन्न रंगका चित्र कोरिएका हुन्छन् । जसमा पूजा गर्ने गरिन्छ । गाउँका ज्येष्ठ सदस्य या महतवाको घरमा कृष्ण जन्माष्टमी अर्थात् अष्टिम्कीका दिन बिहानैदेखि विभिन्न चित्रहरु कोर्ने चलन छ ।

भाद्र १, २०८२

दुर्गालाल केसी

Tharu women celebrate 'Ashtimki' festival

What you should know

दाङ — थारु महिलाहरुले आइतबार अष्टिम्की पर्व मनाएका छन् । कृष्ण जन्माष्टी पर्वलाई थारु महिलाहरु अष्टिमकी पर्व भनेर मनाउँछन् । कृष्ण जन्माष्टमीको अघिल्लो दिनबाट सुरु भएको पर्व भोलिपल्ट समापन गरिन्छ । 

अष्टिम्कीको पहिलो दिन थारु गाउँका घरका भित्तामा विभिन्न रंगका चित्र कोरिएका हुन्छन् । जसमा पूजा गर्ने गरिन्छ । गाउँका ज्येष्ठ सदस्य या महतवाको घरमा कृष्ण जन्माष्टमी अर्थात् अष्टिम्कीका दिन बिहानैदेखि विभिन्न चित्रहरु कोर्ने चलन छ ।

माथिल्लो लाइनमा पाण्डवहरु वनबास जान थालेको चित्र, दोस्रो लाइनमा वनबासबाट फर्कंदै गरेको दृश्य । अनि तलतिर रुखमा बसेर बाँसुरी बजाउँदै गरेका कृष्ण । ठूलो चारकुने चित्रभित्र कुष्णका अनेक कथा देखाउने सांकेतिक दृश्यहरु हुन्छन् । थारु जातिको अष्टिम्की पर्व यिनै चित्रहरुसँगै सुरु हुन्छ ।

चित्र बनाउन विशेष सिप हुनुपर्ने भएकाले सबैले यस्तो काम गर्दैनन् । चित्र बनाउने मानिस पनि व्रत बस्नुपर्छ । नुहाएर बिहानैदेखि चित्र बनाउन सुरु हुन्छ । चित्र बनाउने प्राय: पुरुष हुन्छन् । आजभोलि महिलाहरुले पनि सिक्ने प्रयास गरिरहेका छन् । चित्रमा रातो, हरियो र कालो रङ प्रयोग हुन्छ । रङ पनि स्थानीय प्राकृतिक चिजहरुबाट बनाउने गरिन्छ । प्राय: बजारको रङ प्रयोग गरिँदैन । रातोमा माटो, हरियोमा सिमीको पात र कालोमा वनकस पोलेर रङ बनाइन्छ ।

Tharu women celebrate 'Ashtimki' festival

चित्रमा कृष्णकालीन समाजका रीतीरिवाजहरु व्यक्त गरिएका हुन्छन् । कृष्ण गाई ग्वाला जाने भएकाले गाईको चित्र हुन्छ, उनी जन्मँदा हात्ती र ऊँट चढेर सुडेनी बोलाउन गएको विश्वासमा हात्ती र ऊँटको चित्र हुन्छ । गोपिनीहरु डुंगा चढेर दही बेच्न गएकाले नदी, माछा, गंगटा र डुंगाका चित्र हुन्छन् ।

यसैगरी शिवजी र कृष्णले खेतीपाती गर्ने गरेकाले गोरु र हलो-जुवा पनि चित्रमा हुन्छ । चित्रको सबैभन्दा माथि गौंथलीको आँखा र घाँटी बनाइन्छ । गौंथली किसानको मित्र चरा भएकाले यसो गरिन्छ । गौंथलीले कुनै पनि अनाज नखाने र बरु अनाज खाने किराहरु खाएर किसानलाई सहयोग गर्ने गर्छ ।

श्रीकृष्ण जन्माष्टमीको अघिल्लो रातबाट सुरु हुने यो पर्व तीन दिनसम्म मनाउने गरिन्छ । अघिल्लो दिन दर खाने र अष्टिमकीको दिन व्रत बसेर बिहानैदेखि चित्र बनाउने चलन छ । बेलुकापख सबै महिलाहरु टपरीमा चामल, ज्यामिर, दियो बालेर महतवाको घरमा जान्छन् । महतवाको श्रीमतीले टिका लगाइदिन सुरु गरेपछि अन्य महिलाहरु पनि ठूलाले सानालाई टिका लगाइदिन्छन् ।

टपरी, दियो महतवाको घरमै राखेर घर फर्कन्छन्, फलफूल खान्छन् र फेरि त्यहीं फर्केर रातभर गीत गाउँछन् । भोलिपल्ट बिहान सबै महिलाहरु जुटेर टिका लगाउने र लाइन लागेर दियो खोलामा बगाउन जाने चलन छ । अष्टिम्की विशेषतः थारु महिलाहरुको पर्व मानिन्छ ।

राति महतवाको घरमा जुटेर महिलाहरु कृष्णले गोपिनीलाई फकाएका, कृष्णले कंशलाई नष्ट गरेको जस्ता कथालाई गीत बनाएर गाउँछन् । बिहान नदीमा धुपबत्ती सेलाएर फर्केपछि ३, ५, ७ जस्ता बेजोडा नम्बरका विभिन्न थरी तरकारी र खानाका परिकार बनाउँछन् । उक्त परिकार दाजुभाइहरुलाई खुवाउने चलन छ । जसलाई अग्रासन भन्ने गरिन्छ ।

Tharu women celebrate 'Ashtimki' festival

कुनैबेला भित्तामा मात्रै कोरिने अष्टिम्कीका चित्र अहिले बजारमा किन्न पाइन्छ । चित्र कोर्नुको सट्टा पोष्टर ल्याएर टास्ने क्रम बढ्दो छ । घरमै स्थानीय स्रोत साधनबाट बनाउने चलन हट्दै गएको छ । चित्र बनाउने र अष्टिम्की गीत गाउने मानिसहरुको अभाव पनि खट्किँदै गएको थारु लोकगायक बेझलाल चौधरीले बताए ।

परम्परागत अभ्यासमा नयाँ पुस्ताको चासो नहुँदा थारु जातिको महत्वपूर्ण चाड अष्टिम्की आधुनिक बन्दै गएको उनले गुनासो गरे । यसको सांस्कृतिक, धार्मिक मूल्य मान्यतालाई बेवास्ता गरिएको थारु महतवा संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए । 

अष्टिम्की पर्वमा प्रेमको चर्चा हुनुका साथै पारिवारिक र सामाजिक एकता सन्देश पनि दिने गरिएको उनले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully