प्रजनन केन्द्रमा ९३ घडियाल बच्चा हुर्किँदै, बढ्दो प्रदूषण र बासस्थानको विनाशले अस्तित्व जोखिममा।
What you should know
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जस्थित गोही प्रजनन केन्द्रमा अहिले घडियालका बच्चाको व्यस्तता निकै बढेको छ । संसारमै दुर्लभ र अति संकटापन्न घडियाल गोहीका करिब दुई महिनाका ९३ वटा बच्चाले यहाँको पोखरीलाई आकर्षक तुल्याएका छन् ।
निकुञ्जभित्र रहेका दुईवटा केजमा कतिपय बच्चा पोखरीमा खेलिरहेका छन् । कतिपय आहारास्वरूप माछा खान सिक्दैछन् । केही बच्चा घाम ताप्न पोखरीको डिलमा सुस्ताइरहेका देखिन्छन् । कतिले आपसमै घुलमिल हुँदै मायाप्रेम र बात्सल्य साटिरहेका छन् ।
यहाँका पोखरीमा अहिले माउभन्दा बच्चा धेरै छन् । ‘प्रजनन केन्द्रमा यस वर्ष बालुवामुनि पाँचवटा गुँड लगाएका थिए,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोक रामले भने, ‘१ सय २० बढी अन्डामध्येबाट घडियाल गोहीले १ सय ५ वटा बच्चा कोरले ।’ १५ वटा जति मरे । पाँच पोथीका ९३ वटा बच्चा अहिले प्रजनन केन्द्रभित्र हुर्किरहेका उनले सुनाए । तिनै अहिले मजाले आहारविहार गर्दै रमाइरहेका हुन् ।
गोहीले ०८१ सालमा यहाँ ५० वटा बच्चा कोरलेका थिए । जसमध्ये ३२ बच्चा बाँचेका थिए । त्यसैगरी, ०८० मा ८५ वटा बच्चा कोरलेकामा ६४ वटा बँचेका थिए । ०७९ मा ५५ वटा बच्चा कोरलिएकामा ३८ वटा बाँचेका थिए । ‘बच्चा सुरुको एक–दुई महिनाभित्र बढी मर्ने गर्छन्,’ वरिष्ठ संरक्षण अधिकृत डा. रामले भने, ‘त्यसपछि खासै समस्या हुँदैन । जन्मनेबित्तिकै चिसो र खान नसक्ने बच्चामात्र मर्ने गर्छन् । त्यसपछि भने मजाले हुर्किन्छन् । तर पनि प्रजनन केन्द्रमा हुर्किएर नदी खोलामा छाड्ने बेलासम्म करिब ६० प्रतिशतमात्र बाँच्ने गरेका छन् ।’ तर, प्राकृतिक बासस्थानमा जन्मेका बच्चा एक–दुई प्रतिशतमात्रै बाँच्ने गरेको संरक्षणकर्मीहरू बताउँछन् ।
बर्दिया राष्ट्रिय निकुञ्जस्थित गोही प्रजनन केन्द्रमा हुर्कंदै गरेका गोहीका बच्चा । तस्बिरः मनोज पौडेल/कान्तिपुर
प्रजनन केन्द्रमा रहेका घडियालले असार पहिलो साता बच्चा कोरलेको निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले बताए । ‘अहिले दुई महिनाका हुन लागे,’ उनले भने, ‘गोहीका बच्चा ठूलो भएपछि नदीमा लगेर छोड्ने गरिएको छ ।’ प्रायः ठूलो र हेर्दै डरलाग्दो लाग्ने घडियालका ससाना बचेरा देखेर निकुञ्ज आउनेहरू निकै रमाउने गरेका छन् । बचेरा निकुञ्जको प्रमुख आकर्षण नै बनेको छ । त्यहाँ पुग्ने कसैले अहिले ती बच्चा हेर्न छटाउँदैनन् ।
घडियाल गोही सफा नदीमा बस्छ । माछा खाने गर्छ । यो गोही मगर गोहीजस्तो जहाा पायो, त्यहीँ जाँदैन । यसले मानिसलाई आक्रमण गर्दैन । तर, पछिल्लो समय बढ्दो नदी प्रदूषण, प्राकृतिक बासस्थानको विनाश र नदीमा माछा मार्न जाने व्यक्तिले अन्डा फुटाइदिनेजस्ता कारण गोहीको अस्तित्व संकटमा पर्दै गएको छ । ०७३ सालपछि सबैभन्दा धेरै बच्चा यस वर्ष जन्मिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत (वार्डेन) डा. रामले बताए । घडियालकै लागि दुई जना प्राविधिक खटिएर दैनिक रेखदेख गरिरहेका छन् ।
अहिले ९३ बच्चालाई दैनिकजसो डेढ–दुई किलो ससाना माछा आहार दिनुपर्छ । यसका लागि गेम स्काउट रंगीललाल थारु माछा खोज्न दिनदिनै नजिकका नदी खोला पुग्छन् । ‘साना बच्चाले ठूला माछा खान सक्दैनन्,’ उनले भने, ‘५/६ महिनासम्म साना माछा खोज्न दैनिक जानु पर्छ ।’
बर्दिया राष्ट्रिय निकुञ्जस्थित गोही प्रजनन केन्द्रमा हुर्कंदै गरेका गोहीका बच्चा । यस वर्ष यहाँ ९३ वटा बच्चा हुर्किरहेका छन् । तस्बिरः मनोज पौडेल/कान्तिपुर
प्रजनन केन्द्रमा हुर्किएका गोही ४ देखि ५ वर्षको भएपछि नदीमा लगेर छाडिन्छ । अहिले बर्दिया प्रजनन केन्द्रमा नदीमा लगेर छाड्न मिल्ने १५ देखि २० वटा गोही छन् । गत वर्ष छाडिएन । यस वर्ष भने छोड्नै पर्छ । नभए ठाउँ पुग्दैन । कर्णाली र बबईमा गोही छाड्ने योजना बनाएको डा. रामले बताए । गत वर्षसम्मकै सानाठूला गरेर १ सय ५२ वटा गोही छन् । एउटा अन्डाबाट एउटा बच्चा कोरल्छ । एउटा पोथीले ३१ देखि ६२ वटासम्म अन्डा पार्न सक्छ । प्रजननका लागि दुई भाले र ८ पोथी छन् । बच्चा कोरलेको ३/४ दिनमा माउ र बच्चा अलग गरिन्छ ।
घडियाललाई स्वच्छ नदी प्रणालीको संकेतका रूपमा लिइने घडियाल विशेषज्ञ नुरेन्द्र अर्यालले बताए । 'पानी स्वच्छ भएपछि अन्य वातावरण पनि स्वच्छ हुन्छ, जुन मानवका लागि पनि महत्त्वपूर्ण छ,' उनले भने । बाघ संकटापन्न सूचीमा छ भने यो अतिसंकटापन्न सूचीमा रहेको उनले बताए । घडियालको शरीरको बनावट छुट्टै किसिमको हुन्छ । भालेको टाउकोमा विशेष खालको घडा हुन्छ । नेपालमा पनि कम ठाउँमा पाइने भएकाले मान्छेले बढी हेर्न मन पराउने उनले बताए ।
नेपालमा मगर र घडियाल गरी दुई प्रजातिका गोही पाइन्छन् । घडियाल तुलनात्मक रुपमा शान्त रहने नदी र किनार छाडेर धेरै पर नजाने स्वभावको हुन्छ । यसको विपरीत मगर गोही आक्रामक स्वभावको र खोला, पोखरी, हिले तालतलैया जता पनि बस्ने, लामो यात्रा गर्ने खालको हुन्छ ।
प्राकृतिक बासस्थलमा घडियाल जोगाउन निकै गाह्रो छ । कृत्रिम बासस्थानमा पनि भाले नलाग्दा र प्राविधिक कुरा नमिल्दा गोहीको सफल प्रजनन चुनौतीपूर्ण बनेको छ । बर्दियाको प्रजनन केन्द्रमा पनि ०७५, ०७६ र ०७७ मा तीन वर्षसम्म अन्डा पारेनन् । मुलुकभर वर्षमा कम्तीमा दुई–ढाइ सय बच्चा प्राकृतिक गुँडबाटै निस्कन्छन् । तर, यीमध्ये दुई/तीन प्रतिशत मात्रै जोगिने गरेको गोहीविज्ञ बताउँछन् ।
भेल, बाढीले बगाउँछ, मरी नहाले पनि माउको रेखदेखबाट छुटेका बच्चा अरुको आहारा बन्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बताए । ‘घडियाल जोगिनु भनेको वातावरण ठिक भएको संकेत पनि हो,’ उनले भने ।
नेपालमा सन् १९७८ देखि गोही प्रजातिको संरक्षण र प्रजनन कार्यक्रम संचालन गरिँदै आइएको छ । मुलुकभर ८० भन्दा कम घडियाल भएकाले संरक्षण गर्न ०३५ मा चितवन राष्ट्रिय निकुञ्जको कसरा नजिक घडियाल गोही संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको थियो ।
चितवनमा प्राकृतिक बासस्थलमा गोहीले गुँड लगाएर पारेको अन्डा संकलन गरेर केन्द्रमा ल्याएर बच्चा हुर्काउने गरिएको छ । बर्दियामा भने प्रजनन केन्द्रमै अन्डा पारेर बच्चा हुर्काउने गरिएको छ । २०४० मा उद्धार केन्द्रका रुपमा बर्दिया राष्ट्रिय निकुञ्जमा गोही राख्न थालिएको थियो । त्यही वर्ष बबई नदीबाट २५ वटा गोहीका अन्डा लगेर राखियो । सन् २०१० मा चितवनबाट १० घडियाल लगेर छाडिएपछि अहिले गोही प्रजनन केन्द्रका रूपमा विकास भएको हो ।
