बर्दियामा हुर्किंदै घडियालका बच्चा

प्रजनन केन्द्रमा ९३ घडियाल बच्चा हुर्किँदै, बढ्दो प्रदूषण र बासस्थानको विनाशले अस्तित्व जोखिममा।

भाद्र १, २०८२

मनोज पौडेल

Ghadial's children growing up in Bardia

What you should know

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जस्थित गोही प्रजनन केन्द्रमा अहिले घडियालका बच्चाको व्यस्तता निकै बढेको छ । संसारमै दुर्लभ र अति संकटापन्न घडियाल गोहीका करिब दुई महिनाका ९३ वटा बच्चाले यहाँको पोखरीलाई आकर्षक तुल्याएका छन् ।

निकुञ्जभित्र रहेका दुईवटा केजमा कतिपय बच्चा पोखरीमा खेलिरहेका छन् । कतिपय आहारास्वरूप माछा खान सिक्दैछन् । केही बच्चा घाम ताप्न पोखरीको डिलमा सुस्ताइरहेका देखिन्छन् । कतिले आपसमै घुलमिल हुँदै मायाप्रेम र बात्सल्य साटिरहेका छन् । 

यहाँका पोखरीमा अहिले माउभन्दा बच्चा धेरै छन् । ‘प्रजनन केन्द्रमा यस वर्ष बालुवामुनि पाँचवटा गुँड लगाएका थिए,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोक रामले भने, ‘१ सय २० बढी अन्डामध्येबाट घडियाल गोहीले १ सय ५ वटा बच्चा कोरले ।’ १५ वटा जति मरे । पाँच पोथीका ९३ वटा बच्चा अहिले प्रजनन केन्द्रभित्र हुर्किरहेका उनले सुनाए । तिनै अहिले मजाले आहारविहार गर्दै रमाइरहेका हुन् । 

गोहीले ०८१ सालमा यहाँ ५० वटा बच्चा कोरलेका थिए । जसमध्ये ३२ बच्चा बाँचेका थिए । त्यसैगरी, ०८० मा ८५ वटा बच्चा कोरलेकामा ६४ वटा बँचेका थिए । ०७९ मा ५५ वटा बच्चा कोरलिएकामा ३८ वटा बाँचेका थिए । ‘बच्चा सुरुको एक–दुई महिनाभित्र बढी मर्ने गर्छन्,’ वरिष्ठ संरक्षण अधिकृत डा. रामले भने, ‘त्यसपछि खासै समस्या हुँदैन । जन्मनेबित्तिकै चिसो र खान नसक्ने बच्चामात्र मर्ने गर्छन् । त्यसपछि भने मजाले हुर्किन्छन् । तर पनि प्रजनन केन्द्रमा हुर्किएर नदी खोलामा छाड्ने बेलासम्म करिब ६० प्रतिशतमात्र बाँच्ने गरेका छन् ।’ तर, प्राकृतिक बासस्थानमा जन्मेका बच्चा एक–दुई प्रतिशतमात्रै बाँच्ने गरेको संरक्षणकर्मीहरू बताउँछन् ।Ghadial's children growing up in Bardiaबर्दिया राष्ट्रिय निकुञ्जस्थित गोही प्रजनन केन्द्रमा हुर्कंदै गरेका गोहीका बच्चा । तस्बिरः मनोज पौडेल/कान्तिपुर

प्रजनन केन्द्रमा रहेका घडियालले असार पहिलो साता बच्चा कोरलेको निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले बताए । ‘अहिले दुई महिनाका हुन लागे,’ उनले भने, ‘गोहीका बच्चा ठूलो भएपछि नदीमा लगेर छोड्ने गरिएको छ ।’ प्रायः ठूलो र हेर्दै डरलाग्दो लाग्ने घडियालका ससाना बचेरा देखेर निकुञ्ज आउनेहरू निकै रमाउने गरेका छन् । बचेरा निकुञ्जको प्रमुख आकर्षण नै बनेको छ । त्यहाँ पुग्ने कसैले अहिले ती बच्चा हेर्न छटाउँदैनन् ।

घडियाल गोही सफा नदीमा बस्छ । माछा खाने गर्छ । यो गोही मगर गोहीजस्तो जहाा पायो, त्यहीँ जाँदैन । यसले मानिसलाई आक्रमण गर्दैन । तर, पछिल्लो समय बढ्दो नदी प्रदूषण, प्राकृतिक बासस्थानको विनाश र नदीमा माछा मार्न जाने व्यक्तिले अन्डा फुटाइदिनेजस्ता कारण गोहीको अस्तित्व संकटमा पर्दै गएको छ । ०७३ सालपछि सबैभन्दा धेरै बच्चा यस वर्ष जन्मिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत (वार्डेन) डा. रामले बताए । घडियालकै लागि दुई जना प्राविधिक खटिएर दैनिक रेखदेख गरिरहेका छन् । 

अहिले ९३ बच्चालाई दैनिकजसो डेढ–दुई किलो ससाना माछा आहार दिनुपर्छ । यसका लागि गेम स्काउट रंगीललाल थारु माछा खोज्न दिनदिनै नजिकका नदी खोला पुग्छन् । ‘साना बच्चाले ठूला माछा खान सक्दैनन्,’ उनले भने, ‘५/६ महिनासम्म साना माछा खोज्न दैनिक जानु पर्छ ।’ Ghadial's children growing up in Bardiaबर्दिया राष्ट्रिय निकुञ्जस्थित गोही प्रजनन केन्द्रमा हुर्कंदै गरेका गोहीका बच्चा । यस वर्ष यहाँ ९३ वटा बच्चा हुर्किरहेका छन् । तस्बिरः मनोज पौडेल/कान्तिपुर 

प्रजनन केन्द्रमा हुर्किएका गोही ४ देखि ५ वर्षको भएपछि नदीमा लगेर छाडिन्छ । अहिले बर्दिया प्रजनन केन्द्रमा नदीमा लगेर छाड्न मिल्ने १५ देखि २० वटा गोही छन् । गत वर्ष छाडिएन । यस वर्ष भने छोड्नै पर्छ । नभए ठाउँ पुग्दैन । कर्णाली र बबईमा गोही छाड्ने योजना बनाएको डा. रामले बताए । गत वर्षसम्मकै सानाठूला गरेर १ सय ५२ वटा गोही छन् । एउटा अन्डाबाट एउटा बच्चा कोरल्छ । एउटा पोथीले ३१ देखि ६२ वटासम्म अन्डा पार्न सक्छ । प्रजननका लागि दुई भाले र ८ पोथी छन् । बच्चा कोरलेको ३/४ दिनमा माउ र बच्चा अलग गरिन्छ ।

घडियाललाई स्वच्छ नदी प्रणालीको संकेतका रूपमा लिइने घडियाल विशेषज्ञ नुरेन्द्र अर्यालले बताए । 'पानी स्वच्छ भएपछि अन्य वातावरण पनि स्वच्छ हुन्छ, जुन मानवका लागि पनि महत्त्वपूर्ण छ,' उनले भने । बाघ संकटापन्न सूचीमा छ भने यो अतिसंकटापन्न सूचीमा रहेको उनले बताए । घडियालको शरीरको बनावट छुट्टै किसिमको हुन्छ । भालेको टाउकोमा विशेष खालको घडा हुन्छ । नेपालमा पनि कम ठाउँमा पाइने भएकाले मान्छेले बढी हेर्न मन पराउने उनले बताए । 

नेपालमा मगर र घडियाल गरी दुई प्रजातिका गोही पाइन्छन् । घडियाल तुलनात्मक रुपमा शान्त रहने नदी र किनार छाडेर धेरै पर नजाने स्वभावको हुन्छ । यसको विपरीत मगर गोही आक्रामक स्वभावको र खोला, पोखरी, हिले तालतलैया जता पनि बस्ने, लामो यात्रा गर्ने खालको हुन्छ ।

प्राकृतिक बासस्थलमा घडियाल जोगाउन निकै गाह्रो छ । कृत्रिम बासस्थानमा पनि भाले नलाग्दा र प्राविधिक कुरा नमिल्दा गोहीको सफल प्रजनन चुनौतीपूर्ण बनेको छ । बर्दियाको प्रजनन केन्द्रमा पनि ०७५, ०७६ र ०७७ मा तीन वर्षसम्म अन्डा पारेनन् । मुलुकभर वर्षमा कम्तीमा दुई–ढाइ सय बच्चा प्राकृतिक गुँडबाटै निस्कन्छन् । तर, यीमध्ये दुई/तीन प्रतिशत मात्रै जोगिने गरेको गोहीविज्ञ बताउँछन् ।

भेल, बाढीले बगाउँछ, मरी नहाले पनि माउको रेखदेखबाट छुटेका बच्चा अरुको आहारा बन्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बताए । ‘घडियाल जोगिनु भनेको वातावरण ठिक भएको संकेत पनि हो,’ उनले भने । 

नेपालमा सन् १९७८ देखि गोही प्रजातिको संरक्षण र प्रजनन कार्यक्रम संचालन गरिँदै आइएको छ । मुलुकभर ८० भन्दा कम घडियाल भएकाले संरक्षण गर्न ०३५ मा चितवन राष्ट्रिय निकुञ्जको कसरा नजिक घडियाल गोही संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको थियो ।

चितवनमा प्राकृतिक बासस्थलमा गोहीले गुँड लगाएर पारेको अन्डा संकलन गरेर केन्द्रमा ल्याएर बच्चा हुर्काउने गरिएको छ । बर्दियामा भने प्रजनन केन्द्रमै अन्डा पारेर बच्चा हुर्काउने गरिएको छ । २०४० मा उद्धार केन्द्रका रुपमा बर्दिया राष्ट्रिय निकुञ्जमा गोही राख्न थालिएको थियो । त्यही वर्ष बबई नदीबाट २५ वटा गोहीका अन्डा लगेर राखियो । सन् २०१० मा चितवनबाट १० घडियाल लगेर छाडिएपछि अहिले गोही प्रजनन केन्द्रका रूपमा विकास भएको हो ।

मनोज पौडेल

Link copied successfully