जंगली च्याउ खाँदा रोल्पामा वृद्ध दम्पतीको मृत्यु

जंगलबाट खोजेर ल्याएको च्याउ खाएलगत्तै उनीहरू बिरामी भएका थिए ।

भाद्र १, २०८२

काशीराम डाँगी

Elderly couple dies in Rolpa after eating wild mushrooms

रोल्पा — जंगली च्याउ खाँदा रोल्पामा वृद्ध दम्पतीको मृत्यु भएको छ । प्रहरीका अनुसार परिवर्तन गाउँपालिका-२ राङसी गाउँ निवासी ती दम्पतीको दाङमा उपचार गराइरहेका बेला दुई दिनको फरकमा शनिबार र आइतबार मृत्यु भएको हो ।

प्रहरीका अनुसार राङसी निवासी ८१ वर्षीय भागीराम वली र उनकी श्रीमती ७४ वर्षीया नर्मला वलीले गत साउन २७ मा च्याउ खाएका थिए । जंगलबाट खोजेर ल्याएको च्याउ खाएलगत्तै उनीहरू बिरामी भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उनीहरूको प्राथमिक उपचार गरिएको थियो ।

बिरामीको स्वास्थ्य अवस्था गम्भीर भएपछि दुवैलाई थप उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको थियो । उनीहरूलाई शनिबार राति प्रतिष्ठानमा पुर्‍याइएको थियो । उनीहरू दुवैको उपचारका क्रममै मृत्यु भएको हो । साउन ३१ मा नर्मलाको र आइतबार भागीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए । उनीहरूलाई उपचार गराउन छोरा मनबहादुर वलीले दाङ पुर्‍याएका थिए । मृतक दुवैको शवको पोस्टमार्टम प्रतिष्ठानमै गर्ने तयारी छ ।‍

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully