रूपन्देहीस्थित पर्यटन व्यवसायी, उद्योगी र सरोकारवालाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा विमानस्थल सञ्चालनको विषयलाई प्रभावकारी ढंगले उठान गर्न माग गरेका हुन् ।
What you should know
भैरहवा — रुपन्देहीस्थित पर्यटन व्यवसायी, उद्योगी र सरोकारवालाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयलाई प्रभावकारी ढंगले उठान गर्न माग गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष विमानस्थललाई आवश्यक हवाई रुट र इन्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) सञ्चालनको विषयलाई एजेन्डा बनाउन उनीहरुले माग गरेका हुन् ।
होटल एसोसिएसन नेपालका लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले सीमावर्ती सहरमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय सञ्चालनमा भारतले अवरोध पुर्याइरहेको भन्ने हल्ला रहेकाले त्यसबारे प्रधानमन्त्रीको भ्रमणका सिलिसिलामा प्रस्ट पारिनुपर्ने बताए । ‘विमानस्थल सञ्चालन लगायतका पर्यटनसित सरोकार राख्ने समस्याबारे जानकारी दिन भैरहवाबाट काठमाडौंसम्म डेलिगेसन जाने तयारी गरेका छौं,’ उनले भने, ‘भारतका कारण हामीले भोग्नु परेका अप्ठ्यारा फुकाउन अनुरोध गर्छौं ।’ अहिले हवाई रुटको समस्या देखाएर विमानस्थल चलाउन पन्छिने गरिएका कारण त्यसबारे प्रधानमन्त्रीको भ्रमणका क्रममा प्रस्ट कुरा राख्नुपर्ने उनले बताए ।
जसरी भए पनि विमानस्थल सञ्चालन गर्न जरुरी रहेको पर्यटन व्यवसायी आशा गुरुङले बताए । ‘अब विमानस्थल सञ्चालन नभए हामी लगानीकर्ता मर्ने नै हो,’ उनले भने, ‘तसर्थ प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विमानस्थल सञ्चालनको विषयले महत्व पाउनुपर्छ ।’ टाढाका मुलुकमा उडान गर्न नसकिए पनि भारतका विभिन्न सहरमा क्षेत्रीय उडान सञ्चालन गरेर भए पनि व्यवसायीको ज्यान जोगाउन उनले माग गरे । अर्का पर्यटन व्यवसायी विष्णु शर्माले भैरहवाबाट नजिकै भारतको गोरखपुरबाट दैनिक उडान भर्ने ४/५ विमान नेपाली यात्रुले भरिने गरेको बताए । ‘कम्तीमा भारतका सहरसित भए पनि जोडिनुपर्यो,’ उनले भने, ‘त्यसका लागि भारतलाई सकारात्मक बनाउनुपर्यो ।’
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताबबाबु तिवारीले तत्कालका लागि भारतका विभिन्न सहरमा क्षेत्रीय उडान गरेर भए पनि कनेक्टीभिटी बढाउन सकिने जानकारी दिए । ‘भैरहवाबाट क्षेत्रीय उडानका लागि भारतका विभिन्न सहर सबैभन्दा उपयुक्त गन्तव्य हुन्,’ उनले भने, ‘प्रधानमन्त्रीज्युको आसन्न भारत भ्रमणमा यस विषयमा कुराले प्राथमिकता पाउनुपर्छ ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नुपर्ने एजेन्डामा गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि रुट अनुमति, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति भारतले राख्ने नकारात्मक भावनाको अन्त्य र क्षेत्रीय उडानका लागि पहल गर्ने विषय समेटिएको जानकारी दिए ।
