पूर्वमन्त्री लोकेन्द्र विष्टले सुरु गरेको ड्रागन फ्रुट खेतीलाई स्थानीय व्यवसायीहरूले विस्तार र व्यवस्थित गर्न समिति समेत गठन गरेका छन्। समितिका अनुसार हालसम्म जिल्लाभर ५८ व्यावसायिक किसान सक्रिय छन् । जसले ६ सय ३४ कट्ठा क्षेत्रफलमा ३० हजार ३ सय १५ पोल तयार गरी १ लाख २ हजार ५ सय ६५ बिरुवा रोपेका छन् ।
What you should know
दाङ — ड्रागन फ्रुटको व्यावसायिक खेती दाङमा अहिले तीव्र एवं व्यापक भइरहेको छ । ड्रागन फ्रुट खेतीमा साना तथा ठूला किसानहरू लगानी गरिरहेका छन् ।
सुरुमा दाङमा २०७५ सालमा माओवादी केन्द्रका पूर्व नेता एवं पूर्वमन्त्री लोकेन्द्र विष्टले ड्रागन फ्रुट खेती भित्र्याएका थिए । उनले तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीमा ६६ कट्ठा जग्गा भाडामा लिएर ड्रागन खेती थालेका थिए । रातो र सेतो ७ हजार ड्रागन फ्रुटका बिरुवा लगाएर उनले व्यावसायिक खेती सुरु गरेका थिए ।
अहिले विष्टले उक्त खेती छोडिसकेका छन् तर अन्य व्यवसायीहरू यसको बिस्तारमा लागिरहेका छन् । अहिले ड्रागन फ्रुट व्यवसायीहरूको समिति नै गठन भएको छ । जिल्लामा ड्रागन फ्रुट खेतीलाई व्यवस्थित र दिगो बनाउने उद्देश्यले गत असार १० गते भएको व्यवसायीहरूको भेलाबाट शोभाराम डाँगीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
यस समितिले किसानहरूको हकहित, उत्पादनको व्यवस्थापन र बजार सञ्जाल विस्तारमा काम गर्ने लक्ष्य राखेको संयोजक डाँगीले बताए । उनका अनुसार हालसम्म जिल्लाभर ५८ व्यावसायिक किसानहरू सक्रिय छन् । जसले ६ सय ३४ कट्ठा क्षेत्रफलमा ३० हजार ३ सय १५ पोल तयार गरी १ लाख २ हजार ५ सय ६५ बिरुवा रोपेका छन् ।
यस वर्षको सिजनमा १ लाख ५५ हजार १ सय ५० किलो ड्रागन फ्रुट उत्पादन हुने अनुमान गरिएको छ । जसबाट करिब ६ करोड रकम किसानको हातमा पर्ने डाँगीले बताए । आगामी वर्ष उत्पादन तीन गुणा वृद्धि गर्ने लक्ष्य राखेको उनले जानकारी दिए । अब समिति दर्ता गरी बजार व्यवस्थापन, मूल्य निर्धारण, अनुभव आदानप्रदान, चिस्यान केन्द्र स्थापना लगायतका कामहरू गर्ने उनले बताए ।
सुरुमा ड्रागन फ्रुट निकै महँगोमा बिक्री भएको थियो । विष्टले रातो प्रति केजी ८ सय र सेतो ७ सय रुपैयाँमा बिक्री गरेका थिए । अहिले जिल्लामा रातो जातको खेती बढी भइरहेको छ । यसको मूल्य वार्षिक रुपमा घट्दै गएको छ । २०७८ सालमा प्रतिकिलो २ सय ५० र २०७९ मा २ सय ८० मा बिक्री भएको थियो । २०८० देखि फेरि मूल्य वृद्धि भएको छ । २०८० मा प्रतिकिलो ३ सय, २०८१ मा ३ सय ३० र यसवर्ष ३ सय ५० रुपैयाँमा बिक्री भइरहेको संयोजक डाँगीले बताए ।
समिति निर्माण भएपछि व्यवसायीहरूबीच मूल्यमा समन्वय भई बजारमा अनावश्यक प्रतिस्पर्धा रोकिएको उनले बताए । दाङमा रातो, सेतो, पहेँलो तथा रातो सी भेराइटी जातका ड्रागन फ्रुट छन् । धेरैजसो फर्महरुले पोल र रिङको प्रयोग गरेका छन् भने केही फर्महरूले आधुनिक प्रविधिको प्रयोग गरेका छन् ।
व्यवसायीहरू उत्पादनसँगै माटोको स्वास्थ्य, सिँचाइ प्रणाली र जैविक प्रविधिको प्रयोगमा पनि ध्यान दिइरहेको डाँगीले बताए । उनका अनुसार उत्पादन बढेसँगै उपभोक्ताहरूको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ । ‘धेरै उपभोक्ता फर्ममै पुगेर प्रत्यक्ष खरिद गरिरहेका छन् भने फोन र सामाजिक सञ्जालमार्फत अर्डर गर्ने प्रवृत्ति पनि तीव्र गतिमा बढेको छ,’ उनले भने,‘ठूला व्यवसायीहरूले आफ्नो उत्पादन काठमाडौँ, बुटवल, नेपालगञ्ज, पोखरा जस्ता सहरहरूमा पठाउन थालेका छन् ।’
साना व्यवसायीहरूले घोराही, तुलसीपुर, लमही, नारायणपुर लगायत स्थानीय बजारमा र छिमेकी जिल्ला रोल्पा, सल्यान, प्यूठान र रुकुममा प्रत्यक्ष बिक्री गरिरहेका छन् । ड्रागन फ्रुट खेतीको विस्तारले आर्थिक समृद्धि, रोजगारी सिर्जना र कृषि नवप्रवर्तनको सम्भावना देखाएको डाँगीले बताए । बजार पहुँच, भण्डारण सुविधा, रोग व्यवस्थापन र उपउत्पादनको विकास जस्ता चुनौतीहरू अझै बाँकी रहेको उनले बताए ।
यो सिउँडी प्रजातिको फल हो । अहिले होटेलहरूमा डेजर्टका रुपमा धेरै प्रयोग भइरहेको छ । यसबाट जाम, वाइन, चकलेट, बिस्कुट, पाउडर, फेसवास लगायतका सामग्री पनि बनाउने गरिन्छ । यो फल जेठ असारदेखि मंसिरसम्म पाँचदेखि सातपटकसम्म फल्ने गर्छ । यसको फूल रातिमा फुल्ने भएकाले यसलाई रातकी रानी पनि भन्ने गरिन्छ । यसको हाँगा काटेर रोप्न सकिन्छ । यसको बिरुवा बलियो नहुने भएकाले अड्याउन पोल ठड्याइन्छ । यो तराईदेखि १ हजार ५ सय मिटरको उचाइसम्म खेती गर्न सकिन्छ ।
