होलेरीमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जना घाइते

होलेरीस्थित सहिद मार्गतर्फ हाट बजारबाट आउँदै गरेको लु ४ त २७८९ नम्बरको ट्र्याक्टरसँग विपरीत दिशाबाट आएको रा ४ प ३९१३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

श्रावण ३१, २०८२

काशीराम डाँगी

2 people injured when a tractor and a motorcycle collided in Holleri

What you should know

काठमाडौँ — रोल्पामा शनिबार दिउँसो ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार साढे १ बजेतिर रुन्टीगढी गाउँपालिकाअन्तर्गतको होलेरी बजारस्थित सहिदमार्गमा दुई साधन ठोक्किएका हुन् । 

होलेरीस्थित सहिद मार्गतर्फ हाट बजारबाट आउँदै गरेको लु ४ त २७८९ नम्बरको ट्र्याक्टरसँग विपरीत दिशाबाट आएको रा ४ प ३९१३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । 

दुर्घटनापछि मोटरसाइकलका चालक रुन्टीगढी–८ झेनामका २२ वर्षीय दिपेन्द्र कुँवर र पछाडि बस्ने त्रिवेणी गाउँपालिका–२ धनबाङकी १८ वर्षीया आशा पुन घाइते भएका छन् । घाइते भएका उनीहरुमध्ये कुँवरको दाहिने खुट्टा भाँचिएको छ भने पुनको टाउकोमा चोट लागेको छ । 

घाइतेहरुलाई होलेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरेर दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । 

ट्र्याक्टर चालक रुन्टीगढी–९ सखी निवासी ५५ वर्षीय मोहन बस्नेत र सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए । घटनाबारे अनुसन्धान गर्न होलेरीस्थित इलाका प्रहरी चौकीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक तारा बछहरीको नेतृत्वमा ४ जनाको टोली खटाइएको छ । 

यसैबीच रोल्पामा पछिल्लोपटक सडक सवारी साधानको घटनामा वृद्धि भएको छ । एक साताको अवधिमा सहिद मार्गअन्तर्गत ४ वटा सडक दुर्घटना भएका छन् । सहिद मार्गको घर्तीगाउँ नजिकैको व्याङखोलामा जिप दुर्घटना हुँदा आधा दर्जन यात्रु घाइते भए भने दारबोट नजिकै नन्दी खोलामा तरकारी बोकेको जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भए । 

त्यस्तै माडीचौरमा एउटा ट्रक दुर्घटनामा पर्‍यो भने शनिबार होलेरीमा ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किन पुगे ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully