भविष्यमा चिया खेती र पर्यटनबाटै गाउँलेलाई आत्मनर्भिर बनाउने नगरपालिकाले लक्ष्य लिएको छ ।
What you should know
अर्घाखाँची — जिल्लाकै अग्लो र चिसौ मौसम भएको सेङलेङ लेकलाई चिया बगान र पर्यटन क्षेत्रका रुपमा विकास गर्ने लक्ष्यअनुसार काम अगाडि बढाइएको छ ।
भूमिकास्थान नगरपालिका–१० धनचौरस्थित सेङलेङ लेकमा २० रोपनी क्षेत्रफलमा चिया खेती गरिएको छ । देउराली लालीगुराँस सामुदायिक वनमा २१ हजारभन्दा बढी चियाका बोट छन् ।
भूमिकास्थान युवा सञ्जालको अगुवाइमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयले चियाको बोट वरपर र वनमा उम्रेको घाँस, तितेपाती, वनमारा लगायतको झार उखेलेर फालेका छन् । परीक्षणका लागि गरिएको चिया खेतीलाई सफल पार्न मलजल र गोडमेलमा सबैलाई समेटेको युवा सञ्जालका अध्यक्ष टेकराज भुसालले बताए । ‘यो वनमा चियाका बोट हर्लक्क बढेका छन्,’ उनले भने, ‘यसरी बिरुवा राम्रोसँग हुर्कंदै गएपछि यो ठाउँमा खेती राम्रो हुन्छ भन्ने अनुमान छ । इलामजस्तै चिया उत्पादन भएमा वनबाटै स्थानीयले रोजगारी पाउने, आत्मनिर्भर बन्ने आशा छ ।’
सेङलेङ लेक पर्यटकीय स्थल पनि हो । जहाँबाट धेरै पहाडीसहित तराईको भूभाग अवलोकन गर्न सकिन्छ । चिसो मौसम भएकाले सुपा देउराली मन्दिरमा दर्शन गर्न आएका धार्मिक पर्यटकलाई अग्लो र चिसो ठाउँ सेङलेङ लेकमा घुमाउन ल्याउने गरी काम भएको भूमिकास्थान नगर प्रमुख झविलाल थापाले बताए । त्यसका लागि सेङलेङ–सुपा देउराली सडक निर्माणलाई थप व्यवस्थित गरिँदै छ । यहाँ होमस्टे पनि निर्माण गरिएको छ । बिस्तारै चिया बगान हेर्न पर्यटक आउने र सडक व्यवस्थित भएपछि सुपा देउराली मन्दिरमा आएका तीर्थालुलाई सेङलेङमा ल्याएर स्थानीयलाई पर्यटनबाट स्वरोजगार बनाउने लक्ष्यअनुसार काम भइरहेको थापाले बताए ।
‘भविष्यमा चिया खेती र पर्यटनबाटै गाउँलेलाई आत्मनर्भिर बनाउने लक्ष्य छ,’ उनले भने, ‘सेङलेङ लेक, धनचौर क्षेत्र राम्रो पर्यटकीय गन्तव्य बनाउने गरी पर्यटन पूर्वाधार, सडक निर्माण, चिया खेती विस्तार सहितका काम गरेका छौं ।’ सेङलेङ लेक नजिकैको मृगीस्थल झरनामा पनि पूर्वाधार निर्माण गरिँदै छ ।
