लुम्बिनीमा नियमित विद्युत् आपूर्तिको माग गर्दै ऊर्जामन्त्रीलाई ज्ञापनपत्र

लुम्बिनीका भिक्षु–भिक्षुणीले लगातारको विद्युत् समस्याका कारण काठमाडौं पुगेर नियमित आपूर्तिका लागि ज्ञापनपत्र बुझाएका हुन्।

श्रावण २९, २०८२

मनोज पौडेल

Memorandum to Energy Minister demanding regular power supply to Lumbini

What you should know

लुम्बिनी — भिक्षु–भिक्षुणीको संस्था लुम्बिनी बौद्ध धर्म संरक्षण समितिले लुम्बिनी विकास गुरुयोजना क्षेत्रभित्र नियमित विद्युत् आपूर्तिको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

लुम्बिनी विकास गुरुयोजनाभित्र रहेका विहार, मन्दिर, गुम्बा र चैत्यमा दैनिक लामो समयसम्म विद्युत् आपूर्ति बन्द हुँदा भिक्षु–भिक्षुणीको दैनिकी कष्टकर बन्दै गएकाले समस्या समाधान गर्न ऊर्जामन्त्री दीपक खड्का र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई बिहीबार ज्ञापनपत्र बुझाइएको हो । 

समितिका सल्लाहकार राजकीय विहारका प्रमुख भिक्षु सागर धम्मको नेतृत्वमा लुम्बिनीबाट गएको १२ सदस्सीय भिक्षु–भिक्षुणीको टोलीले नियमित विद्युत् आपूर्तिको व्यवस्था गरिदिन आग्रह गर्दै राजधानी काठमाडौंस्थित ऊर्जा मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् । यसअघि बुधबार समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई नियमित विद्युत् आपूर्तिको माग गर्दै ज्ञापन–पत्र दिएको थियो । 

ऊर्जामन्त्री खड्काले छिट्टै समस्या समाधान गरिने प्रतिबद्धता जनाएको टोली नेता भिक्षु धम्मले बताए । लुम्बिनी गुरुयोजनाभित्र बिजुली अनियमित हुँदा भिक्षु–भिक्षुणीको दैनिकी, पूजापाठ र ध्यान गर्न निकै समस्या भएकाले बाध्य भएर काठमाडौं पुगेर ज्ञापनपत्र दिनुपरेको लुम्बिनी बुद्ध धर्म संरक्षण समितिका सदस्य भिक्षु झ्याङछयुव होएसेरले बताए ।

‘लुम्बिनीस्थित कोष र विद्युत् कार्यालयलाई ज्ञापनपत्र बुझाउँदा कुनै सुनुवाइ भएन,’ उनले भने, ‘त्यही भएर शान्तिका अनुयायी काठमाडौंसम्म पुग्नु परेको हो ।’ 

लुम्बिनीस्थित कोष गुरुयोजनाका विहार मन्दिरमा ५/६ वर्षदेखि विद्युत‍्को ठूलो समस्या छ । ‘यहाँ दैनिक बिजुली अनियमित छ,’ भिक्षु होएसेरले भने, ‘दिनमा १०/१५ मिनेट भए पो सहने । एक घण्टादेखि २०/२२ घण्टासम्मै बिजुली जान्छ, तराईको यो गर्मी मौसममा कसरी दैनिकी सम्हाल्ने ?’ 

खासमा लुम्बिनी कोषले आफैं टेन्डर गरेर गुरुयोजनाभित्र बिजुलीका तार तान्ने र उपकरण राखेकाले त्यहाँबाट आउने समस्याका बारेमा विद्युत् प्राधिकरण पन्छिने गरेको छ । कोषले २९ करोड लागतमा आफैं विद्युतीकरण गरेको छ । कमसल तार र उपकरण राखेकाले दैनिक समस्या आउने गरेको प्राविधिकहरू बताउँछन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully