एमाले लुम्बिनी प्रदेश कमिटीको बैठक : उपनिर्वाचन जित्ने गरी रणनीति गराउन कार्यकर्तालाई निर्देशन

एमाले केन्द्रीय सचिव पद्मा अर्यालले पार्टीलाई जिताउन कार्यकर्तालाई आक्रामक बन्‍न र सामाजिक अराजकताविरुद्ध डट्न निर्देशन दिएकी छन्।

श्रावण २८, २०८२

घनश्याम गौतम

UML Lumbini State Committee meeting: Instructions to the workers to strategize to win the by-elections

What you should know

बुटवल — एमाले लुम्बिनी प्रदेश कमिटीको बुधवार दाङको लमहीमा बसेको पाँचौँ पूर्ण बैठकले कात्तिक १७ गते हुने रूपन्देही–३ को उपनिर्वाचन जित्ने गरी रणनीति गराउन र आक्रामक रूपमा अघि बढ्न निर्देशन दिएको छ । बैठकले केन्द्रीय कमिटीको नवौं बैठकबाट पारित प्रस्तावलाई आत्मसात गर्दै थप प्रस्ताव पनि पारित गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले रुपन्देही–३ को उपनिर्वाचनको नतिजाले २०८४ सालको निर्वाचनको सन्देश दिने भएकाले कार्यकर्तालाई जितका लागि दृढतापूर्वक लाग्न निर्देशन दिएकी छन् । उनले आक्रामक रूपमा काम गर्न र सामाजिक अराजकताविरुद्ध डटेर उभिन आह्वान गरेकी छन् ।

‘मेहनतपूर्वक लागेर जसरी पनि नेकपा एमालेलाई जिताउनु पर्छ । हार्ने छुट छैन,’ उनले भनिन्, ‘सकारात्मक सन्देश प्रवाहका लागि यो चुनाव जित्नै पर्छ ।’ उनले कार्यकर्तालाई रक्षात्मक नभई आक्रामक रूपमा जुट्न तथा सामाजिक अराजकता विरुद्ध डटेर सामना गर्न पनि निर्देशन गरेकी छन् । सामाजिक सञ्जालका टिकाटिप्पणीले एमाले थप सुदृढ हुने उनको दाबी थियो । 

बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले एक वर्षमा उल्लेखनीय काम गरेको भन्दै धन्यवाद व्यक्त गरेको छ । एमाले लुम्बिनी प्रचार विभाग प्रमुख डिआर घिमिरेका अनुसार सरकारले राजनीतिक स्थायित्व कायम गर्दै राजतन्त्रको पुनर्स्थापनाको प्रयासलाई विफल बनाएको, अघिल्ला कार्यकालका उच्च प्राथमिकताका आयोजनाको निरन्तरता दिएको, सहकारी क्षेत्रका बेथितिलाई सम्बोधन गरेको, श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको, शिक्षा र भूमिसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्‍याउने प्रयास गरेको र भ्रष्टाचारविरुद्ध दृढ अडान लिएको ठहर बैठकले गरेको छ । 

बैठकमा लुम्बिनी प्रदेश सरकारले सुरु गरेका राजधानीका लागि प्रशासकीय भवन, लुम्बिनी प्रादेशिक अस्पताल, रामपुर–कपुरकोट पहाडी लोकमार्ग र लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई पूर्णता दिनेगरी काम अघि बढाएको र त्यसले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्ने ठहर पनि गरेको छ । साथै बुटवल क्षेत्रलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न योजनाबद्ध कार्यक्रम बनाउन पनि बैठकले सरकारलाई निर्देशन दिएको छ । बैठकले लुम्बिनीलाई अर्गानिक प्रदेशको रूपमा रूपान्तरण गर्ने, कृषि, उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्य पूर्वाधार विस्तार गर्ने, औद्योगिक तथा व्यावसायिक क्षेत्रको विकास गर्ने, मोतिपुर, नौवस्ता र नेपालगन्जका औद्योगिक क्षेत्र निर्माण गर्ने तथा साना र घरेलु उद्योग प्रवर्द्धन गर्ने आवश्यकता पनि औंल्याएको छ ।

बैठकले किसानका लागि समयमै मल, बीउ र आधुनिक उपकरण आपूर्ति सुनिश्चित गर्न, दुग्ध तथा उखु किसानका बक्यौता भुक्तानी गर्न र खाद्य सुरक्षा प्रत्याभूत गर्न सबै तहका सरकारलाई आह्वान गरेको छ । अविरल वर्षाबाट भएको जनधन र भौतिक पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गर्दै बैठकले पीडितलाई राहत, भत्केका संरचना पुनर्निर्माण, बाढी–पहिरोबाट सुरक्षित बसोबास र अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ ।

बुटवल–नारायणघाट सडकखण्डको दाउन्ने क्षेत्रमा यातायात सहज बनाउन पनि बैठकले आग्रह गरेको एमाले लुम्बिनी अध्यक्ष राधाकृष्ण कँडेलले बताए । ‘बाँझो जमिनलाई उत्पादनमा ल्याउने कार्यक्रम बनाउन, वन्यजन्तुबाट हुने कृषि क्षति रोकथाम गर्न र बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जनावरको आक्रमणबाट हुने धनजनको क्षतिपूर्ति दिलाउन बैठकले माग गरेको छ,’ उनले भने, ‘रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्वलगायत विश्वव्यापी द्वन्द्वले निम्त्याएको असरबारे चिन्ता व्यक्त गर्दै बैठकले शान्ति र न्यायका लागि पहल गर्न तथा भदौमा हुन लागेको प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको सार्वभौमिकता, अखण्डता र आर्थिक विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेको छ ।’ 

बैठकमा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै सरकारले सुशासन प्रवर्द्धनलाई मुख्य लक्ष्य बनाएर दृढतापूर्वक काम गरिरहेको बताएका थिए । सरकारले पाँच वर्षे रणनीतिक योजना निर्माण गरी कार्यान्वयनमा ल्याएको जानकारी दिए । उनले एक वर्षे उपलब्धिहरू प्रस्तुत गर्दै पूर्व विशिष्ट पदाधिकारीको सेवा–सुविधा खारेज गरेर नयाँ सन्देश दिएको, सडक पूर्वाधार, पक्की तथा झोलुंगे पुल, कालोपत्र सडक र नयाँ सडक निर्माणमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए । बैठकमा १२ जिल्लाका अध्यक्षहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully