गुल्मीको डहरे खोलामा पानीले ल्याएको लेदोले बाटो बन्द भएपछि सार्वजनिक र निजी सवारीसाधनका यात्रुले कठिनाइ भोग्नु परेको छ।
गुल्मी — रिडी-वामीटक्सार सडक खण्डको डहरे खोलामा सडक अवरुद्ध भएको छ । बुधबार बिहानदेखि भएको वर्षाका कारण पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो ।
सत्यवती गाउँपालिका-६ स्थित डहरे खोलामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
यो बुटवल-बुर्तिवाङ सडक खण्डको रुद्रवेणी-वामीटक्सार खण्ड हो । डहरे खोलामा पानी पर्नासाथ खोला कालो लेदो माटोसहित आउँदा बाटोको निसाना नै हराउने गर्छ । यस पटकको वर्षायाममा पटक-पटक डहरे खोलामा सडक अवरुद्ध भइरहेको छ । जसका कारण यो सडक भएर हिँड्ने सार्वजनिक तथा निजी सवारीसाधनका यात्रुलाई सास्ती हुँदै आएको छ ।
यही खोलामा निर्माणाधीन पक्की पुन भने निर्माणको अन्तिम चरणमा पुगेर अलपत्रजस्तै छ । बजेटको सुनिश्चितता नभई ठेक्का लागेको यो पुलमा भुक्तानी नआएपछि पुल निर्माणलाई निर्माण व्यवसायीले रोकेका हुन् ।
