पाल्पाको दोभान कालीरहमा ५० मिटर बढी सडक भासियो

पानी पर्नेबित्तिकै सडक सञ्चालनमै समस्या हुने तिनाउ गाउँपालिका–२, दोभान खुर्सानेका रत्न विकले बताए ।उनका अनुसार कालीरहमा सडक भासिन लागेको वर्षौ भइसकेको छ।

श्रावण २८, २०८२

माधव अर्याल

More than 50 meters of road washed away in Dobhan Kalirah of Palpa

What you should know

पाल्पा — पाल्पाको दोभान कालीरहमा ५० मिटर बढी सडक भासिएको छ। वर्षौदेखि सडक भाँसिदै गए पनि यसको रोकथामको नियन्त्रण नगर्दा सिद्धार्थ राजमार्गदेखि तिनाउ गाउँपालिकाको दोभान र कचलका दर्जन बढी गाउँ जाने सडक जुनसुकै बेला बन्द हुने अवस्थामा पुगेको छ। अहिले पनि सडक भासिएको छ ।

पानी पर्नेबित्तिकै सडक सञ्चालनमै समस्या हुने तिनाउ गाउँपालिका–२, दोभान खुर्सानेका रत्न विकले बताए ।उनका अनुसार कालीरहमा सडक भासिन लागेको वर्षौ भइसकेको छ। ‘सडक भासिन लागेको वर्षौ भइसकेको छ,’ उनले भने, ‘तर यसको रोकथामका लागि काम हुन सकेको छैन ।’

वर्षा हुनासाथ कालीरह क्षेत्रमा सवारीसाधन संचालन गर्न समस्या हुने उनले बताए । केही दिनयता परेको देखिको अविरल वर्षासँगै सडकको माथिल्लो भागमा पहिरो खस्दै गएको छ । तल्लो भागमा खोलातर्फ भासिएको छ । पानी पर्ने हो भने साना तथा ठूलो सवारीका साधन संचालन गर्न कठिनाई हुने स्थानीयले बताए। 

तल्लो भागमा कचल खोला बगेको छ । कचल खोलातर्फ छियाछिया भएर सडक भासिँदै गएको छ । स्थानीय बासिन्दा हिमाल महतराका अनुसार अहिलेसम्म ५० मिटर बढी सडक भासिइसकेको छ । ‘ केही वर्षअघिसम्म यो सडक ५० मिटर दक्षिणतर्फ थियो,’ उनले भने, ‘अहिले जंगलतर्फ कोप्दै ५० मिटर जति भित्र आइसकेको छ । तर यस सडकका विषयमा सोच्ने कोही छैन ।’ 

सडकको तल्लो भागमा भासिदै गएको र माथिल्लो जंगल क्षेत्रमा सडक बनाएर हिउँदमा सवारी साधन संचालन हुँदै आएको छ । कचलमा संचालित सर्वोत्तम सिमेन्टको चुनाढुंगा खानीले यस सडकलाई मर्मत गर्दै आएको छ । यहाँ हरेक वर्ष चुनढुंगा खानीले टिपर संचालन गर्न माथिल्लो क्षेत्र (जंगलतर्फ) खन्ने र सवारी साधन संचालन गर्ने गर्छ । स्थानीयका अनुसार एकातर्फ जंगल मासिदै गएको छ भने माथिल्लो भागबाट बग्न पनि रोकिएको छैन । 

तिनाउ गाउँपालिका–२, दोभानका पूर्ववडाध्यक्ष राजेश श्रेष्ठका अनुसार ५ वर्षअघि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले ३० लाख खर्चेर तटबन्धको काम गरेको थियो । खोलामा समितिले स्पर निर्माण गरेको थियो । स्पर खोलाले बगाएकाले उत्तरतर्फ कटान गरेपछि सडक भासिने क्रम नरोकिएको उनले बताए । पानी पर्ने हो भने थप सडक भासिँदै जाने र यातायात संचालनका लागि विकल्पको खोजी गर्नुपर्ने अवस्थामा पुगेको उनले बताए । 

यही सडक भएर सर्वोत्तम सिमेन्टको चुनढुवानी हुनेगर्छ । सडकले दोभानको खुर्साने, कचलको ओखलढुंगा, आर्खुदी, कचल फाँच, पााच्चोटे, हात्तीमारा, देउबारी, ओर्लोफान, सिउाडीखर्क, चीलपोखरी, कुरकुर, जरायो पोखरी लगायतका गाउँका बासिन्दालाई सवारी साधन संचालन नहुँदा समस्या पर्छ । यस क्षेत्रका बासिन्दाको बजार बुटवल हो । यहाँ दैनिक १० वटा भाडाका जीपका साथै एउटा बस र अन्य साना सवारी साधन संचालन हुनेगर्छ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully