सहिद मार्गमा जिप दुर्घटना, ५ घाइते

रोल्पाको सहिद मार्गमा लु १ ज ३६१४ नम्बरको फोर्स गाडी दुर्घटनामा पर्दा ५ जना यात्रु घाइते भएका छन्।

श्रावण २८, २०८२

काशीराम डाँगी

Jeep accident on Shahid Marg, 5 injured

रोल्पा — दाङको घोराहीबाट रोल्पाको तालाबाङतर्फ जाँदै गरेको जिप बुधबार दिउँसो रोल्पाको माडी गाउँपालिका–२ स्थित ब्याङखोलामा दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन् । 

प्रहरीका अनुसार दिउँसो साढे १ बजेतिर लु १ ज ३६१४ नम्बरको सिल्भर रंगको फोर्स गाडी दुर्घटनामा परेको हो । गाडीमा सवार १४ जनामध्ये ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

उक्त गाडी सहिद मार्गदेखि करिब ३० मिटर तल खसेको अवस्थामा दुर्घटनामा परेको हो । घटनापछि घर्तीगाउँस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक देवसिंह भण्डारीको नेतृत्वमा १० जना प्रहरी उद्धारका लागि खटाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितसिंह शाहीले बताए । 

निरन्तर वर्षा भइरहेकाले सहिद मार्ग हिलाम्मे भएको हुँदा गाडी दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ । निर्माणाधीन सहिद मार्गको अधिकांश भागमा वर्षाले आवतजावतमा कठिनाइ थपिएको छ । घाइते यात्रुलाई उपचारका लागि लिबाङ रेउघास्थित रोल्पा जिल्ला अस्पतालमा पठाइएको र सबैको अवस्था सामान्य भएको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अध्ययन गरिरहेको छ । 

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully