अनुदानको मल दुरुपयोग गरेको आरोपमा सहकारी सञ्चालक पक्राउ

मायादेवी गाउँपालिकामा कृषकलाई मल वितरण नगरेको आरोपमा सहकारी सञ्चालक वशिष्ठ पाण्डे पक्राउ परेका छन्। छानबिनपछि मुद्दा चलाउने तयारी भइरहेको छ।

श्रावण २८, २०८२

मनोज पौडेल

Cooperative manager arrested on charges of misusing subsidized fertilizer

कपिलवस्तु — अनुदानको १ सय ९७ बोरा युरिया मल कृषकलाई नदिई अन्यत्र बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

मायादेवी गाउँपालिकास्थित डुमरामा रहेको चेतना विकास कृषि सहकारीले वडा नम्बर ५, बलुहवाका कृषकलाई वितरण गर्न कृष्णनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेसनबाट किनेर ल्याएको थियो । तर, उक्त मल वितरण नगरेको भन्दै छानबिन गरी कारबाही गर्न माग गर्दै साउन ११ गते १५ जना स्थानीयले मायादेवी गाउँपालिकामा निवेदन दिएका थिए ।  

घटना बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्देशनपछि उक्त  सहकारीका सञ्चालक वशिष्ठ पाण्डेलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो । उक्त विषयमा छानबिनपछि मुद्दा चलाउने तयारी गरिएको प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताए ।

सो मल कृषकलाई वितरण नगरी सहकारीले अन्यलाई बेचेको बताइएको छ । ५० किलोको एक बोरा युरिया मललाई ९ सय ५० रुपैयाँमा बिक्री गर्नुपर्नेमा कृषि सहकारीले दोब्बर बढी मूल्यमा बिक्री गर्ने गरेको कृषकहरूको आरोप छ ।

जनता समाजवादी पार्टी नेपालले कृषकलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउनु पर्ने माग गर्दै सदरमुकाम तौलिहवास्थित जिल्ला प्रशासन कार्यालयअघि बुधबार एक घण्टा धर्ना दिएका छन् । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully