गोप्य सूचनाका आधारमा रोल्पाको सुनिल स्मृति गाउँपालिकाबाट ६ जनालाई नगदसहित जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो।
रोल्पा — रोल्पामा तास र जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरूलाई मंगलबार राति ९ बजे अरेसबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सुनिल स्मृति गाउँपालिका-८ अरेसका मिनराज पुन मगर, मनोज पुन मगर, नवीन रोका मगर, मीनराज सुवदी, धनराज पुन र ईन्द्रबहादुर रोका मगर रहेका छन्। इन्द्र तेबाङ गाउँका हुन्। पक्राउ परेका २३ देखि ३५ वर्षका छन्। उनीहरुका साथबाट प्रहरीले नगद २७ हजार ८ सय ६५ रुपैयाँ फेला पारेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले प्रेस विज्ञप्ति जारी गर्दै गोप्य सूचना पाएपछि सुलिचौरस्थित इलाका प्रहरी कार्यालय इन्चार्ज प्रहरी निरीक्षक अरुण तामाङको नेतृत्वमा टोली खटाइएको जनाएका छन्। उनीहरूलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, रोल्पाबाट बुधबार ७ दिनको म्याद थप गरिएको छ।
