कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १५ वर्षपछि पक्राउ

प्रहरीले ६४ वर्षीय वृद्धलाई उनकै घरबाट पक्राउ गरेर आइतबार रोल्पा जिल्ला अदालतमा पेश गरिएको जनाएको हो ।

श्रावण २७, २०८२

काशीराम डाँगी

The defendant in the duty killing case was arrested after 15 years

रोल्पा — कर्तव्य ज्यान मुद्दामा १५ वर्षदेखि फरार रहेका एक जना प्रतिवादीलाई रोल्पा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ती वृद्धलाई उनकै घरबाट पक्राउ गरेर आइतबार रोल्पा जिल्ला अदालतमा पेश गरिएको जनाएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पश्चिम रोल्पाको गंगादेव गाउँपालिका -६ झाझरखोला निवासी ६४ वर्षीय मनबहादुर वली हुन् । 

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले अदालतको आदेश अनुसार वलीलाई पक्राउ गरेको बताए । रोल्पा जिल्ला अदालतले वलीविरुद्ध २०६८ वैशाख १५ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेर ३ वर्षको कैद सजाय सुनाएको थियो । उक्त फैसला सुनाइएपछि वली फरार भएका थिए । उनलाई इलाका प्रहरी घर्तीगाउँका प्रहरी निरीक्षक देवसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले शनिबार उनकै घरबाट पक्राउ गरेको हो ।

अदालतको आदेश एवं फैसला अनुसार वलीलाई  आवश्यक कारबाहीको लागि अदालतमै बुझाइएको हो । अब उनले अदालतले फैसला गरे बमोजिमको कैद भुक्तान गर्नेछन् । अदालतले वलीलाई जिल्ला कारागारमा पठाएको छ ।

यसैबीच अघिल्लो आर्थिक वर्षको अवधिमा विभिन्न मुद्दाका ४६ अभियुक्तलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता शाहीले बताए । 

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully