ट्राफिक जाँचको नाममा अनावश्यक दुःख दिने प्रवृत्तिमा पनि सुधार आवश्यक रहेको उनको भनाइ थियो ।
What you should know
दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनीकरणको विषय अब साझा चिन्ताको एजेन्डा बन्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सडक सुरक्षा परिषद्ले मंगलबार लमहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुर्घटनासँग जोडिएका कारणहरू पहिचान गरेर समाधानका उपाय तत्काल लागू गर्नुपर्नेमा जोड दिए ।
आचार्यले सडक निर्माणका मापदण्ड पूर्ण रूपमा कार्यान्वयन, रुट परमिट दिनुअघि सवारीसाधनको प्राविधिक अवस्था जाँच, ट्राफिक नियमको कडाइका साथ पालना र मानवीय लापरबाही नियन्त्रण सडक सुरक्षा सुधारका आधारभूत कामहरु अनिवार्य रुपमा गर्नुपर्ने बताए ।`तराई, पहाड र हिमालको भूगोलअनुसार सडक मापदण्ड छुट्टाछुट्टै छन्, तिनलाई अनिवार्य पालन गर्नुपर्छ,´ उनले भने ।
उनले लागुऔषध र मदिरा सेवन गरेर सवारी चलाउने, चाडपर्वमा सडक छेक्ने, डोरी टाँगेर यातायात अवरुद्ध गर्ने जस्ता व्यवहार दुर्घटनाका कारण भएको भन्दै यसलाई रोक्न जनचेतना अभियान आवश्यक भएको उल्लेख गरे । ट्राफिक जाँचको नाममा अनावश्यक दुःख दिने प्रवृत्तिमा पनि सुधार आवश्यक रहेको उनको भनाइ थियो ।
भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले दुर्घटनाका कारण पहिचान गरी समाधानका योजना बनाइनु जरुरी रहेको बताए । प्रदेशले सडक गुरुयोजना निर्माण गरेको र त्यसले सुरक्षित सडक कायम गर्न भूमिका खेल्ने बताएका हुन् ।
प्रमुख सचिव बावुराम अधिकारीले सडकको अवस्था सुधारदेखि चालकलाई जिम्मेवार बनाउन र जनचेतना अभिवृद्धिलाई अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राखे । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भिमार्जुन पाण्डेले सुरक्षित सडक निर्माणका लागि प्रदेश सरकार जिम्मेवार भएर अघि बढिरहेको जानकारी दिए ।
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा ३ हजार ४ सय ७९ दुर्घटनामा ५ सय ६ जनाको मृत्यु र ५ हजार ६ सय ९१ घाइते भएका छन् । अघिल्लो वर्ष २०८०/८१ मा मृत्यु संख्या ५ सय ३७ थियो ।
