परासीको व्यस्त चोकमा एएनपीआर क्यामरा जडान 

यसअघि भएको दुर्घटनामा सवारी साधन भागेको र सामान्य सीसी क्यामेराले पहिचान गर्न कठिन भएपछि आधुनिक प्रविधि जडान गरिएको हो ।

श्रावण २७, २०८२

नवीन पौडेल

ANPR camera installation at a busy intersection in Parasi

परासी — पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम’ (एएनपीआर क्यामरा) जडान गरिएको छ । 

भैरहवा–भुमही सडक खण्डअन्तर्गत सदरमुकामको व्यस्त हुने बाइपास चोकमा क्यामेरा जडान गरिएको हो । दुर्घटनाको जोखिम बढी भएको हुँदा न्यूनीकरण र विभिन्न घटना, दुर्घटना हुँदा सवारी साधनको पहिचान गर्न अत्याधुनिक क्यामेरा जडान गरिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए ।

यसअघि भएको दुर्घटनामा सवारी साधन भागेको र सामान्य सीसी क्यामेराले पहिचान गर्न कठिन भएपछि आधुनिक प्रविधि जडान गरिएको हो । यसले सवारी साधनको पहिचानसँगै त्यस क्षेत्र वरपर हुने गतिविधिको निगरानी र शान्ति सुरक्षामा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । यो क्यामेराले हरेक सवारी साधनको नम्बर प्लेट स्वतः पहिचान गर्ने र ओभर स्पीड सवारीको लगत राख्ने काम गर्दछ । 

बाइपास चोकमा राखिएको क्यामेराको निगरानी जिल्ला प्रहरी कार्यालयबाट हुने छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully