कर्णालीको र्‍याफ्टिङमा रमाउँदै पर्यटक

बर्दिया राष्ट्रिय निकुञ्जमा वर्षाका कारण जंगल सफारी बन्द भएपछि पर्यटकहरू र्‍याफ्टिङमा रमाउन थालेका छन्। दैनिक र्‍याफ्टिङमा आउने पर्यटकको सङ्ख्या बढ्दो छ।

श्रावण २६, २०८२

मनोज पौडेल, दीपेन्द्र बडुवाल

Tourists enjoying rafting in Karnali

What you should know

चिसापानी, बर्दिया — बाघ हेर्न बर्दिया आएका ललितपुर एकान्तकुनाका जीवन आचार्य जंगल सफारी गर्न नपाउँदा जति दुःखी थिए, बर्दियाको अर्को ‘प्रडक्ट’ कर्णालीमा र्‍याफ्टिङ गरेर प्राकृतिक आनन्द लिन पाउँदा दंग देखिए । ‘नदीको वहावसँगै देखिएको डर र्‍याफ्टिङ गर्दा पाएको आनन्दले कता हरायो पत्तै भएन,’ उनले भने ।

नदीको सुन्दरता, चिसो पानी, प्राकृतिक वातावरण र वन्यजन्तुको मनोरम आवाजले उनी मात्रै होइन, अहिले यहाँ आइरहेका थुप्रै पर्यटक आल्हादित बनिरहेका छन् । उनीहरूमा खुसीको सीमा छैन । अचेल बर्दिया पुग्ने प्रायः पर्यटक र्‍याफ्टिङमा रमाइरहेका छन् । 

बाघ हेर्नका लागि महत्त्वपूर्ण गन्तव्य बनेको बर्दिया राष्ट्रिय निकुञ्जमा वर्षाका कारण जंगल सफारी बन्द भएपछि र्‍याफ्टिङमा आकर्षण बढेको हो । दैनिकजसो नै पर्यटक र्‍याफ्टिङ गर्न आइरहेका छन् । वर्षाका बेला जेठदेखि भदौसम्म यहाँ जंगल सफारी बन्द हुन्छ । 

र्‍याफ्टिङ गर्दा नदीको कलकलाउँदो मिठासपूर्ण आवाजसँगै प्राकृतिक वातावरणमा रमाउन पाउँदा छुट्टै आनन्द आउँछ । शान्त वातावरणमा र्‍याफ्ट खियाउँदै अघि बढ्दा वन्यजन्तु देखिन्छन् कि भनेर उत्तिकै जिज्ञासा र कौतूहल थपिन्छ । कहिलेकाहीँ र्‍याफ्टिङ गर्दा गैंडा, हात्ती र बाघसमेत देखिने गरेका छन् । ‘वर्षाका कारण अहिले नदीमा राम्रो बहाव छ,’ चराविद् राम शाहीले भने, ‘त्यही भएर गजबको एड्भेन्चर हुन्छ । र्‍याफ्टिङ गर्दा देखिने चरा, मनोरम प्र्राकृतिक वातावरण र सुन्दरताले उत्तिकै मोहित गर्छ ।’ 

यहाँ चिसापानी कर्णाली पुलदेखि हात्तीसार (करिब २० किमि), कर्णाली पुलदेखि कोठियाघाट (करिब ३५ किमि) र कर्णालीपुलदेखि सत्तीघाट टीकापुर (करिब २५ किमि) सम्म र्‍याफ्टिङको चलन छ । एउटा र्‍याफ्टमा ८ देखि १० जनाको समूह अटाउँछ । ५ देखि ६ हजार रुपियाँको प्याकेज हुन्छ । जसमा पिक अप, ड्रप, लन्च र ब्रेक फ्रास्टको सुविधा रहेको गैंडा क्याम्प रिसोर्ट बर्दियाका संचालक रामजी थापाले बताए । 

‘र्‍याफ्टिङमा स्वदेशी र विदेशी पर्यटक निकै रमाउने गरेका छन्,’ उनले भने, ‘र्‍याफ्टिङ गर्दा देखिने पानीमा बस्ने वन्यजन्तु डल्फिन, ओंत, सरिसृप र चरालाई देख्दा अझ आल्हादित बनाउँछ ।’ र्‍याफ्टिङ गर्दै जाँदा नदी छेउमा आएर सेतो बालुवामा बस्दा समुन्द्र तटमा बसेको अनुभूति गर्दै खाना र ब्रेकफास्टको आनन्द पनि लिन सकिने उनले बताए । 

सुन्दर दृश्यको आनन्द लिँदै, कहिले टाढाका पहाडको दृश्यालोकन त कहिले नजिकमा चित्तल मृग हेर्दै कर्णालीमा ३५ किलोमिटर र्‍याफ्टिङ गरेको क्षण अविस्मरणीय भएको पत्रकार महासंघ लुम्बिनी प्रदेश पूर्वअध्यक्ष वसन्त गिरीले बताए । ‘सेतो बालुवामा बस्दा समुन्द्र तटमा आराम गरेको अनुभूति हुँदो रहेछ,’ उनले भने, ‘र्‍याफ्टिङले बर्दियामा पर्यटनको अर्को सम्भावना खोलेको छ ।’ 

हावा भरेर चलाउन मिल्ने डुंगा (र्‍याफ्ट) प्रयोग गरेर पानीको बहावसँगै नदीमा जलयात्रा गराइन्छ । नदीमा र्‍याफ्टिङ गर्दा र्‍यापिड (पानीको भंगालो) मा पौंठेजोरी खेल्दै जानुको अनुभव निकै रोमाञ्चक हुने हुँदा यहाँ निकै आकर्षण बढेको बर्दियाको ठाकुरद्वारास्थित वाइल्ड लाइफ इन्काउन्टर रिर्भर र्‍याफ्टिङका संचालक बलबहादुर रानाले बताए । ‘अझ विदेशी पर्यटक त नदीमा माछा मारेर पनि रमाउने गर्छन्,’ उनले भने, ‘क्याम्पिङ पनि बस्छन् । अहिले दैनिकजसो र्‍याफ्टिङ गर्ने बढेका छन् । यसले बर्दियामा पर्यटक आकर्षण बढाएको छ ।’ 

स्वदेशी र विदेशी दुवै पर्यटक अहिले यहाँ रमाइरहेका छन् । र्‍याफ्टिङ गर्दा सुरक्षाका सबै उपाय अपनाइएको सञ्चालक रानाले बताए । कर्णाली नदीमा र्‍याफ्टिङ गर्दाको अर्को महत्त्वपूर्ण पाटो भने तराई, पहाड र हिमालको गजबको ल्यान्डस्केप देख्न पाइने हुँदा पनि यहाँ आकर्षण रहेको पाका सञ्चारकर्मी युवराज श्रेष्ठले बताए । ‘जब डुंगामा बसेर नदीको छालको गतिसँगै रमाउन थालिन्छ, एकैछिनमा डर हराइजान्छ,’ उनले भने । यसैले पनि कर्णाली नदीमा र्‍याफ्टिङ गर्न स्वदेशी र विदेशी पर्यटक मोहित हुने उनले बताए । र्‍याफ्टिङ एउटा मनोरञ्जनात्मक साहसिक खेल पनि हो । त्यसैले यो खेल पछिल्लो समय नदीमा एडभेन्चरसँगै व्यवसायका रूपमा फस्टाउँदै आएको छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

दीपेन्द्र

Link copied successfully