जिल्ला सदरमुकाम तानसेनलगायत नायरनमतलेस, रामपुर, हुमिन, ताहुँ, जब्गादी, सिलुवामा जात्रा निकालिएको हो ।
What you should know
पाल्पा — पाल्पामा सोमबार सांस्कृतिक पर्व रोपाइँ जात्रा निकालिएको छ । रोपाइँ जात्रा पर्व धुमधामका साथ मनाउने प्रचलन छ ।
जिल्ला सदरमुकाम तानसेनलगायत नायरनमतलेस, रामपुर, हुमिन, ताहुँ, जब्गादी, सिलुवामा जात्रा निकालिएको छ । तानसेन बजारमा दुई वटा समूहले रोपाइँ जात्रा देखिएको स्थानीय बुद्धिप्रसाद शर्माले बताए । तानसेनको काजीपौवा टोल विकास सस्था, कुसुमडाँडा र तानसेनस्थित देववाणी संस्कृत तथा साधारण माविले पनि यस वर्ष रोपाइँ जात्रा धुमधामका साथ निकालेका छन् । विद्यालयका विद्यार्थीलाई संस्कृति सिकाउने विद्यालयले जात्रा निकालेको प्रधानाध्यापक कृष्ण बहादुर थापाले बताए ।
परम्परागत रूपमा निकालिँदै आएको रोपाइँ यसपटक पनि परम्परा धान्ने काम भएको स्थानीय अगुवाले बताए छन् । स्थानीय सरकारको सहयोग नभएपछि केही वर्ष हराउने हो कि भन्ने चिन्ता स्थानीयमा थियो ।
पश्चिम पहाडको मौलिक पर्वका रूपमा रहेको रोपाइँ जात्रामा धान रोप्दा गरिने क्रियाकलापसँग विभिन्न जातजातिको संस्कृति र कला झल्काउने खालको अभिनय गरिन्छ । यसलाई निकाल्नमा भने धेरै खर्च लाग्ने भएकाले समस्या रहेको बुद्धिजीवी शर्माले बताए ।
रोपाइँ जात्रा असारको महिना धानको रोपाइ गरी सकेपछि मनाउने जात्रा हो । यो जनैपूर्णिमाको पर्सिपल्छ दिउँसो र रातीमा निकालिन्छ । जिल्लाका कतिपय ग्रामीण भेगमा दिउँसोमा नभई रातीमा निकालिने गरेको हुमिनका आशिष श्रेष्ठले बताए । यो नेवार संस्कृतिबाट सुरु भएको जात्रा हो । तर पछिल्लो समयमा अन्य जातजातिले पनि निकाल्न सुरु गरेका छन् ।
ताहुँका विनोद श्रेष्ठका अनुसार पहिले धान रोप्ने काम सकिएको खुसीयालीमा यो जात्रा मनाउने प्रचलन थियो । यो जात्रामा रोपाइँमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ । रोपाइँ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजागाजाका साथ असारे गीत गाउँदै र नाच्दै रमाइलो गर्छन् । ‘काम गरेर थाकेको शरीरलाई मनोरञ्जन दिने गरी पहिलो जात्रा सुरु भएको हो,’ श्रेष्ठले भने, ‘अहिले यसको महत्त्व पहिले जस्तो छैन ।’
जात्रामा अघिअघि गोरू, हलो, जुवा, खोक लिएका हली पछिपछि रोपाहारले हिलोमा धान रोपेको अभिनय गर्दै रोपाइ निकालिन्छ । पञ्चेबाजाको तालमा रोपाइँ गरेको अभिनय गर्ने प्रचलन छ । जात्रा हेर्न विभिन्न चोकचोकमा भीड लागेको थियो । राणा शासनकाल देखिनै नेवार जातीले सुरु गरेको यो जात्रा अहिले आएर सम्पूर्ण नागरिकको पर्वको रूपमा विकास भएको छ ।
