श्रीनगर सिद्धिविनायक सहयोग समितिले शनिबार अहिलेसम्म मन्दिरलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो ।
पाल्पा — जात्रैजात्राको सहर तानसेनमा रहेको श्रीनगर सिद्धिविनायक गणेशको रथयात्राको सय वर्ष पुगेको अवसरमा सहयोगीहरूलाई सम्मान गरेको छ ।
तानसेन नगरपालिका–३, श्रीनगरको काखमा रहेको छ गणेश मन्दिर ।
श्रीनगर सिद्धिविनायक सहयोग समितिले शनिबार अहिलेसम्म मन्दिरलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो । सहयोगीहरूलाई तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, बुद्धिजीवी बुद्धिप्रसाद शर्मा, तानसेन नगरपालिका ३ का वडाध्यक्ष बाबुरत्न शाक्यले सयौँ वर्षसम्म जात्रा सञ्चालन गर्न सामान्य कुरा नभएको बताए ।
भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जन, तानसेन गुठी तानसेन शाखाका अध्यक्ष शकुन्तला बज्राचार्य, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना लगायतले इतिहास बोकेको मन्दिर भएकाले यसको संरक्षण र विकास गर्नका साथै जात्रालाई सफल बनाउन सहयोगी सबैको महत्त्वपूर्ण भूमिका रहने बताए ।
सिद्धिविनायक गणेश मन्दिर तानसेनको ऐतिहासिक धार्मिक स्थल हो । गणेश जात्रालाई भव्य रूपमा मनाउनका लागि हरेक वर्ष स्थानीय सरकारले सहयोग गर्नुपर्ने गुठियार हिमालदत्त श्रेष्ठले बताए । सोही अवसरमा तानसेन गुठी काठमाडौँले रथयात्रा निकाल्दा ओढाइने छाता यही कार्यक्रममा हस्तान्तरण गरेको छ । एक लाख १० हजार मूल्य बराबरको धार्मिक छाता समितिलाई हस्तान्तरण गरेको हो । तानसेन गुठी काठमाडौँका पूर्वअध्यक्ष सर्जुलाल लिगलले विशेष गरी नेवार समुदायको गुठीका रूपमा रहेको गणेश मन्दिरलाई आवश्यकताको आधारमा छाता सहयोग गरेको बताए ।
