रूपन्देही उपनिर्वाचन : रास्वपाबाट उम्मेदवार बन्न आवेदन दिने ९ जनामा को-को ?

रास्वपाले आन्तरिक रूपमा अनलाइनमार्फत इच्छुक उमेदवारको आवेदन माग गरेको थियो । त्यसमा सम्बन्धित क्षेत्र र बाहिर रहेर रास्वपामा सक्रिय रहेकाहरूले समेत चासो देखाएका छन् ।

श्रावण २२, २०८२

घनश्याम गौतम

Rupandehi by-election: Who among the 9 people who applied to be a candidate from RSVP?

What you should know

बुटवल — रूपन्देही-३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ९ जना प्रतिस्पर्धी देखिएका छन् । रास्वपाले आन्तरिक रूपमा अनलाइनमार्फत इच्छुक उमेदवारको आवेदन माग गरेको थियो । त्यसमा सम्बन्धित क्षेत्र र बाहिर रहेर रास्वपामा सक्रिय रहेकाहरूले समेत चासो देखाएका छन् ।

आवेदन दिएकाहरूको नाम पार्टीको आधिकारिक पेजबाट बिहीबार सार्वजनिक भएको छ । साउन ७ देखि खुला गरिएको आवेदन दिने म्याद बुधबार सकिएको थियो । सार्वजनिक गरिएको नामावलीमा शुलभ खरेल, पाथवेन्द उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन् । 

आवेदन दिएकामध्ये मधु अर्याल, ज्ञानु पौडेल, कुसुम महर्जन, सुलभ खरेल र डा. लेखजंग थापा मुख्य प्रतिस्पर्धी हुन् । अब आवेदन प्राप्त भएका मध्येबाट भदौ १५ गते आन्तरिक निर्वाचनमार्फत एक जना उमेदवार छनोट हुनेछन् । 

क्षेत्रीय सभापति अर्याल शिक्षण पेसामा आबद्ध छन् । उनी तिलोत्तमाका विद्यालय सञ्चालक हुन् । उनले साउथ एसियन युनिभर्सिटीबाट अटिजममा पीएचडी गरेका छन् । ज्ञानु पौडेल सहकारी अभियन्ता हुन् । यस्तै, डा. लेखजंग थापा न्युरोसर्जन हुन् । केन्द्रीय सदस्य महर्जन रूपन्देहीकै रास्वपा नेतृ हुन् । उनी २०७९ सालको आमनिर्वाचनमा पार्टीको तर्फबाट समानुपातिक सूचीमा थिइन् । उक्त सूचीबाट नाम फिर्ता गरेर उनी उम्मेदवारीको दौडमा सामेल भएकी हुन् ।

गुप्ता रास्वपा प्रदेश सदस्य तथा २०७९ का उम्मेदवार थिए । क्षेत्री पार्टीको जिल्ला कोषाध्यक्ष हुन् । खरेल अमेरिकाबाट निर्वाचनकै लागि आएका हुन् । उनी सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेसँग निकट छन् । 

रूपन्देही-३ उपचुनावलाई संगठन विस्तार र पुनः जनमत निर्माणको अवसरका रूपमा लिएको नेताहरूले बताएका छन् । पार्टीका अनुसार उम्मेदवार बन्नका लागि पार्टीले तय गरेको प्रक्रिया अनिवार्य हुनेछ । सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपीन आचार्यले भदौ १२ र १३ मा आन्तरिक निर्वाचनबाट टुंगो लगाएर १५ गते उम्मेदारको घोषण गरिने जानकारी दिए । 

२०७९ को आमनिर्वाचनमा रूपन्देही-३ मा रास्वपाले समानुपातिकतर्फ १४ हजार मत ल्याउँदै तेस्रो स्थान हासिल गरेको थियो । प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार जितबहादुर गुप्ताले ५हजार ७ सय ९६ मत ल्याएका थिए । करिब १ लाख ३० हजार मतदाता रहेको यस क्षेत्रमा करिब ९० हजार मत खसेको थियो । समानुपातिक र स्थानीय तहको मतका आधारमा कांग्रेस यस क्षेत्रमा पहिलो दल देखिन्छ ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully