बाढीपछि बबई नदी कटानले चार गाउँ जोखिममा

बबई, भादा औराही नदी व्यवस्थापन कार्यालयले निर्माण गरेको तटबन्ध पनि कटानको जोखिममा परेको छ ।

श्रावण २१, २०८२

कमल पन्थी

After flood, four villages are at risk due to erosion of Babai river

What you should know

बर्दिया — मंगलबार बबई नदीमा आएको बाढी घटेपछि गुलरिया नगरपालिका–१० का चार गाउँ उच्च जोखिममा परेका छन् । नदीमा बुधबारसम्म करिब १० मिटर कटान भएको स्थानीयले बताए ।

बबई, भादा औराही नदी व्यवस्थापन कार्यालयले निर्माण गरेको तटबन्ध पनि कटानको जोखिममा परेको छ । आयोजनाले यस क्षेत्रमा तटबन्ध गर्ने योजना बनाइरहेको अवस्थामा साउन १ गतेदेखि कार्यालय डडेलधुरा स्थानान्तरण गरिएको छ । आयोजना स्थान्तरण भएपछि यस क्षेत्रमा तटबन्धको काम प्रभावित भएको छ ।

गुलरिया नगरपालिका–१० का किसान दिपक चौधरीले कटान नरोकिए बबईले धार परिवर्तन गरी नयाँपुरुवा, रंगीपुर, झगरुपुर र रत्नापुर उच्च जोखिममा पर्ने खतरा बढेको बताए । विगत पाँच वर्षयता स्थानीय किसानको ४० विघा बढी खेतीयोग्य जमिन कटान गरिसकेको उनले जनाए ।

यस वर्ष साउन २० गते आएको बाढीले कटान सुरु गरेको छ । वर्षायाम असोजसम्म हुने भएकोले खेत कटानको त्रास उत्तिकै रहेको स्थानीय रघुवीर मल्लाहले बताए । 'सरकारले बबई, भादा, औराही नदी व्यवस्थापन आयोजनाको काम पूरा नहुँदै अन्यत्र स्थान्तरण गरेर ठूलो गल्ती गरेको छ,' उनले भने, 'अब तटबन्ध कहिले हुने, कसले गर्ने त्यतिन जेल हाम्रो खेत नदीले बगाइसक्छ ।'

नेपाल भारत सीमानजिक रहेको उक्त गाउँमा धान, तोरी, गहुँ, तरकारी र मकै उत्पादन हुन्छ । नदी कटान रोक्न स्थायी तटबन्ध बनाउनुपर्ने गाउँलेहरुले माग गर्दै आएका छन् । तटबन्धको काम चालु आवबाट सुरु गर्ने योजना आयोजना स्थान्तरण भएपछि अधुरो रहेको छ ।

यस भेगको दक्षिणबाट नदी कटानले धार परिवर्तन गरिरहेकोले उच्च जोखिम बढेको स्थानीय बताउँछन् । पाँच वर्षअघि यसै गाउँनजिक नेपाल भारत सीमामा रहेको तीन वटा सीमा स्तम्भ बगाएको थियो । यस वर्ष ठूलो बाढी अझै आएको छैन । स्थानीय रमेश लोधले भने, ‘०७१ र ०७४ जस्तो बाढी आए रंगीपुर लगायत रत्नापुरसमेत ठूलो क्षति हुने जोखिम बढेको छ ।'

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully