अविरल वर्षाले बबई नदीको जलस्तर ८.१३ मिटर पुगेपछि प्रमुख जिल्ला अधिकारी पौडेलले जोखिमपूर्ण काम नगर्न आग्रह गरेका छन्।
बर्दिया — गुलरिया नगरपालिका–५ वालापुरका बासिन्दाका खेतमा बाढीको पानी पस्न थालेपछि दर्जन बढी स्थानीय माछा मार्न र काठ संकलनमा व्यस्त छन् । स्थानीय प्रशासनले बाढीको उच्च जोखिम भएकाले सतर्क रहन सूचित गरे पनि स्थानीय बासिन्दा भने माछा मार्न र बगेको दाउरा संकलनमा व्यस्त छन् ।
अनुगमनको क्रममा रहेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले जोखिम मोलेर यस्तो काम नगर्न अनुरोध गरेका छन् । सोमबारदेखि परेको लगातारको वर्षाले बबई नदीमा जलस्तर खतराको तह पार गरिसकेको छ ।
चेपाङस्थित जलमापन केन्द्रमा मंगलबार दिउँसो १२ बजे ८ दशमलव १३ मिटर पुगेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । बर्दियाको बाँसगढी, बारबर्दिया, ठाकुरद्वारा, मधुवन र गुलरियाको तटीय क्षेत्रमा बाढीको जोखिम बढ्दै गएको छ । बबई नदी सल्यान र दाङ हुँदै बर्दियामा आएर भारत पस्ने गरेको छ ।
बर्दिया, सल्यान र दाङमा पानी परेकोले बबई उच्च जोखिममा रहेको स्थानीय प्रशासनले जनाएको छ । चेपाङ जलमापन केन्द्र हुँदै सदरमुकाम गुलरियामा बाढी पस्न करिब ४ घण्टा लाग्ने गर्छ । जोखिम भएका पालिकाको तटीय क्षेत्रमा सबैलाई सचेत गराउन साइरन बजाउन थालिएको छ ।
