राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डको सिद्धबाबा क्षेत्रका दर्जन बढी स्थानमा ढुंगा, माटोसहितको पहिरो खसेको थियो ।
पाल्पा — सोमबार बेलुकी ८ बजेदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड मंगलबार ४ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डको सिद्धबाबा क्षेत्रका दर्जन बढी स्थानमा ढुंगा, माटोसहितको पहिरो खसेको थियो ।
वर्षा रोकिएपछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको हेबी मेसिनले तत्काल खुलाउने प्रयास गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रविन आचार्यले जानकारी दिए । उनका अनुसार पहिरो सफा गरेर राजमार्ग खुलाइएको छ ।
राजमार्गको पाल्पा तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रको नागडाँडा, ड्यामसाइड, सिद्धबाबा लगायतका स्थानमा खसेका पहिरोले सोमबार बेलुकीदेखि अवरुद्ध भएको थियो । निरन्तरको वर्षा र सडकमा खसेको पहिरोले राजमार्ग सुरु गराउन सकिएको थिएन ।
प्रहरी चौकी दोभानले वर्षा नरोकिएसम्म सडक खुलाउन नसकिने जनाएको थियो । निरन्तर वर्षा हुँदा सडकमा ढुंगा खस्ने समस्या छ । सडकमा खसेका ढुंगासहितको पहिरो पन्छाउन माथिल्लो क्षेत्रबाट खस्ने ढुंगाका कारण समस्या भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा रोकिएका पहाडबाट तराई झर्ने र तराईबाट पहाडका लागि छुटेका सयौं सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ । सिद्धबाबा क्षेत्र अवरुद्ध हुँदा पाल्पाबाहेक गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ लगायतका गन्तव्यमा पुग्ने सवारी साधन र यात्रुले सास्ती खेप्दै आएका छन् ।
