पहिरो खस्दा सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध 

निरन्तरको वर्षा र पहिरोका कारण बेलुकीदेखि अवरुद्ध भएको सिद्धबाबा क्षेत्रको सडक मंगलबार बिहानसम्म खुल्न सकेको छैन ।

श्रावण २०, २०८२

माधव अर्याल

Palpa-Butwal road section of Siddharth highway blocked due to landslide

पाल्पा — उत्तरदक्षिण जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सोमबार बेलुकीदेखि अवरुद्ध सडक अझै खुलेको छैन । 

निरन्तरको वर्षा र सडकमा खसेको पहिरोले बेलुकी ८ बजेदेखि अवरुद्ध भएको सडक मंगलबार बिहानसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । वर्षासँगै सोमबार दिउँसो पनि खुल्ने र बन्द हुने क्रम जारी थियो । सिद्धबाबा क्षेत्रमा खसेको पहिरो पन्छाउन निरन्तरको वर्षाले नसकिएको सडक डिभिजन पाल्पा र सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएका छन् । 

Palpa-Butwal road section of Siddharth highway blocked due to landslide

प्रहरीले वर्षा नरोकिएसम्म सडक खुलाउन नसकिने जनाएको छ । सडक अवरुद्ध हुँदा पहाडबाट तराई झर्ने र तराईबाट पहाड हिँडेका सयौं सवारीसाधन सडकमै अलपत्र परेका छन् । पाल्पाको सिद्धबाबा क्षेत्र अवरुद्ध हुँदा पाल्पाबाहेक गुल्मी, अर्घाखााची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ लगायतका गन्तव्यमा पुग्ने सवारीसाधन र यात्रुले सास्ती खेप्नुपर्ने हुन्छ । यस क्षेत्रमा नरम माटोमा अडिएको चट्टान वर्षायामका साथै सुक्खायाममा पनि खस्ने समस्या रहेको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully