दिउँसो १ बजेसम्म चेपाङ जलमापन केन्द्रमा ७ दशमलव १३ मिटर पानी बगेको थियो ।
बर्दिया — बबई नदीमा बेलुकीदेखि पानीको बहाव घट्न थालेको छ । लगातारको वर्षाले दिउँसोसम्म जलस्तर खतराको चिह्न पार गरेकोमा बेलुकादेखि घट्दै जान थालेको हो ।
दिउँसो १ बजेसम्म चेपाङ जलमापन केन्द्रमा ७ दशमलव १३ मिटर पानी बगेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य एवम् सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीका अनुसार बेलुकी ७ बजेसम्म बबईको पानीको बहाव घटेर ६ दशमलव १६६ मिटर बगिरहेको बताए ।
बबई नदीको उद्गमस्थल सल्यान हुँदै दाङबाट बग्ने गर्छ । दाङ र सल्यानमा वर्षा लगातार भए बबई नदी जोखिममा रहने उनले जनाए ।
मंगलबार दिउँसो गुलरिया–५ वालापुरको बबई टोलस्थित खेत डुबानमा परेको छ । यसैगरी बबई नदीको भादा पुल नजिक बाढी पसेको छ । गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादवसहितका जनप्रतिनिधि तटीय क्षेत्रमा पुगेर काठ, दाउरा संकलन, माछा नमार्न स्थानीयलाई आग्रह गरेका थिए ।
