कालीगण्डकी करिडोरमा आठ किलोमिटरमा तीन पहिरो : एक हटाइयो, दुई बाँकी

गुल्मीको कालीगण्डकी गाउँपालिकामा आइतबार साँझको पहिरोले करिडोर अवरुद्ध भएको छ, दुई स्थानमा पहिरो हटाउने काम जारी छ।

श्रावण १९, २०८२

सन्तोष महतारा

Three landslides in eight kilometers in Kaligandaki corridor: one removed, two remaining

गुल्मी — कालीगण्डकी करिडोरमा आठ किलोमिटर क्षेत्रमा तीनवटा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । तीमध्ये एक स्थानको पहिरो हटाइसकिएको छ भने बाँकी दुई स्थानमा हटाउने कार्य जारी छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, कालीगण्डकी गाउँपालिका–१ गरगरे, वडा नम्बर २ मुल्क र वडा नम्बर ३ कनौटामा आइतबार साँझ पहिरो खसेको थियो । गरगरेको पहिरो हटाइसकिएको र बाँकी दुई स्थानमा हटाउने क्रम जारी रहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

यस वर्षायाममा कालीगण्डकी करिडोर पटक–पटक छिनभरमै अवरुद्ध हुने गरेको छ । जसका कारण यात्रुहरूलाई ठूलो सास्ती खेप्नुपरेको छ । करिडोर हुँदै सञ्चालन हुने सार्वजनिक तथा स्थानीय सवारीसाधनमा यात्रा गर्नेहरू मारमा परेका छन् ।

यता, गुल्मीमा अवरुद्ध रिडी–तम्घास र रुद्रवेणी–वामी सडक भने खुलिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सन्तोष

Link copied successfully