२०७२ असार २४ मै निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको स्वच्छन्द निर्माण सेवा काठमाडौँले अहिलेसम्म पनि पुल निर्माण गरेको छैन।
पाल्पा — गुल्मीको रिडीदेखि स्याङ्जाको चण्डीभन्ज्याङ् जोड्ने सडक मोटरेवल पुल निर्माण कार्य अलपत्र अवस्थामा छ।सडक डिभिजन पाल्पामार्फत् १२ वर्षअघि निर्माण सुरू भएको सो पक्की पुल अहिलेसम्म पनि निर्माण सम्पन्न भएको छैन।
गुल्मीको रूरूक्षेत्र गाउँपालिकाको रिडीबाट कालीगण्डकी गाउँपालिकाको चण्डीभन्ज्याङ् स्याङ्जा जोड्ने पक्की पुल निर्माण गर्न तीन वर्षे अवधि राखेर आर्थिक वर्ष २०६८/०६९ सालमै ठेक्का सम्झौता भएको थियो।
यो पुल २०७२ असार २४ मा सम्पन्न हुनुपर्ने सडक डिभिजन पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले बताए । तर अहिलेसम्म पनि पुल निर्माणको काम सकिएको छैन। स्वच्छन्द निर्माण सेवा काठमाडौँले यो पुल निर्माणको जिम्मा पाएको थियो।
सडक डिभिजन कार्यालयका अनुसार २० करोड २९ लाख २० हजार रुपैयाँमा पुल निर्माणको ठेक्का लागेको थियो। अहिले पुलको संशोधित लागत २० करोड ५३ लाख ३३ हजार पुगेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी गौतमले बताए।
अहिलेसम्म पुलको भौतिक प्रगति ४० प्रतिशत मात्र रहेको छ। वित्तीय प्रगति २१ प्रतिशत मात्रै रहेको सडक डिभिजनले जनाएको छ। एकातिरको सामान्य पिल्लर र पुल वारिपारि जग निर्माण गरिएको छ।
बीचको वेल फाउन्डेसनको काम गर्दै जाँदा ठूलो ढुंगा आएकाले काम गर्न समस्या भएको निर्माण व्यवसायीको दाबी छ । नदीको वारिपारि र बीचको फाउण्डेसनको काम सकिएकाले ट्रस राख्ने काम मात्र बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ ।
