सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्ड एकतर्फी सञ्चालनमासञ्चालनमा

यस क्षेत्रमा नरम माटोमा अडिएको चट्टान हिउँद होस् वा सुख्खा याम, जहिलेसुकै खस्ने समस्या रहेको छ।

श्रावण १९, २०८२

माधव अर्याल

Palpa-Butwal section of Siddharth Highway in one-way operation

पाल्पा — अविरल वर्षासँगै खसेको ठूला ढुंगासहितको पहिरो पन्छाएपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रको सडक पहिरोका कारण अवरुद्ध भएको थियो। 

सिद्धबाबा मन्दिरनजिकै कम्तीमा तीन स्थानमा ठूलो चट्टान र माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सडक तीन घण्टासम्म पूर्ण रूपमा अवरुद्ध रह्यो। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको हेभी मेसिनले तत्काल खुलाउने प्रयास गरेको थियो।

ठूलो पानी पर्न रोकिनासाथ सडकमा खसेको पहिरो र ढुंगा पन्छाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको पाल्पाका प्रहरी प्रमुख एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार सिद्धबाबा क्षेत्रमा पहिरो खस्ने र ढुंगा झर्ने भएपछि राजमार्गका प्रभास र दोभानमा रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ।

साथै बुटवलको गोलपार्क क्षेत्रमा रोकिएका सवारीसाधन पनि बिस्तारै गन्तव्यतर्फ पठाइएको छ। कतिपय सवारीसाधन बीच बाटोमा रोकिएका थिए। उनीहरूलाई समेत प्रहरीको सहयोगमा सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ।

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको काम भइरहेको छ। पाल्पाको सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले तराईबाट पाल्पा साथै गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका गन्तव्यमा पुग्ने सवारीसाधन प्रभावित हुने गरेका छन्। यस क्षेत्रमा नरम माटोमा अडिएको चट्टान हिउँद होस् वा सुख्खा याम, जहिलेसुकै खस्ने समस्या रहेको छ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully