भैरहवाको मुख्य बजारमा रहेको घरबाट नगद र गहना चोरी

भवनको भुइँतला र दोस्रो तलाका च्यानल गेट तोडेर नगद र गहना चोरी भएको प्रहरीले जनाएको छ ।

श्रावण १९, २०८२

दीपेन्द्र बडुवाल

Cash and jewelery stolen from a house in the main bazaar of Bhairahawa

भैरहवा — रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित कुवेर सुवेदीको घर र त्यहाँ भाडामा रहेका व्यापारिक प्रतिष्ठानमा आइतबार राति चोरी र तोडफोड भएको छ। सुवेदीको घरको मुख्य च्यानल गेट फुटालेर प्रवेश गरेका व्यक्तिले तीन तोला सुनका गहना, आधा किलो चाँदीका सिक्कासाथै २० हजार नेपाली रुपैयाँ र ७ हजार भारतीय रुपैयाँ चोरी गरेका छन्। चोरी भएको घर वडा प्रहरी कार्यालयबाट करिब ७० मिटर दूरीमा रहेको छ।

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्रकुमार श्रेष्ठका अनुसार, चोरी गर्नेले सुरुमा भुइँतलाको च्यानल गेट फुटाएर प्रवेश गरेको देखिन्छ।

त्यसपछि दोस्रो तलाका दुईवटा च्यानल गेट फुटालेर नगद र गहना चोरी गरेको देखिएको छ। उनका अनुसार उक्त घरमा भाडामा रहेका व्यापारिक प्रतिष्ठानका झ्याल–ढोका, सिद्धार्थ इन्स्योरेन्सका टेबुलका घर्रा, एनसेलको सेल डिपो र दास कुरियर कम्पनीको पसल तोडफोड गरिएको छ। साथै घरमा रहेको पूजा कोठामा समेत क्षति पुर्‍याइएको उनले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश सापकोटाले घरका झ्याल–ढोका फुटालेर चोरीको प्रयास भएको बताए। ‘उक्त घरमा चोरीको प्रयास भएको हो,’ उनले भने, ‘ढोका, घर्रा, दराज फुटाए पनि कुनै पनि सामान हराएको प्रहरीलाई जानकारी आएको छैन।’ उक्त चोरीको घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको उनले बताए।

दीपेन्द्र बडुवाल

Link copied successfully