उखु किसानले जिल्ला प्रशासनमार्फत बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बर्सेनि घट्दै गएको उखु खेतीमा सरकारले प्रोत्साहन गर्नुपर्नेमा निराशा बनाउने काम गरेको किसानको गुनासो छ ।

श्रावण १८, २०८२

नवीन पौडेल

Sugarcane farmers submitted a memorandum to the Prime Minister through the district administration

परासी — सरकारले बजेटमा उखु किसानका लागि अनुदान रकम कटौती गरेको भन्दै किसानले तत्काल अनुदान रकम सुनिश्चित गर्न माग गरेका छन् । 

उखु उत्पादक किसान समिति लुम्बिनी प्रदेशका अध्यक्ष एवम् प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएका हुन् । बर्सेनि घट्दै गएको उखु खेतीमा सरकारले प्रोत्साहन गर्नुपर्नेमा निराशा बनाउने काम गरेको किसानको गुनासो छ । 

उद्योगीले ५ सय ८५ रुपैयाँ प्रतिक्विन्टल र सरकारले ७० रुपैयाँ अनुदान गरेर प्रतिक्विन्टल ६ सय ५५ रुपैयाँ मूल्य तोकेको थियो । किसानले यो वर्ष उखु काटेर उद्योगलाई बिक्री गरेर अनुदानको पर्खाइमा रहेको समयमा सरकारले भने अनुदान रकम कटौती गरेको छ । 

किसानले आर्थिक वर्ष २०८१\८२ को १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । चालु आवमा सरकारले अनुदान रकम नै उल्लेख नगरेपछि किसान आन्दोलित भएका हुन् । 

तत्काल अनुदान रकम सुनिश्चित नगरेमा चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी उनीहरुले दिएका छन् । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully