कालीगण्डकी करिडोर र बुर्तिवाङ सडक सञ्चालनमा

डहरे खोलामा पुल निर्माण भइरहेको छ। पुल बनेपछि बारम्बारको सडक अवरोध अन्त्य हुने आशा गरिएको छ। कालीगण्डकीमा दीर्घकालीन उपाय चाहिन्छ।

श्रावण १८, २०८२

गगनशिला खड्का

Kaligandaki corridor and Burtiwang road in operation

गुल्मी — आइतबार दिउँसो गुल्मीमा गएको पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर र बुटवल–बुर्तिवाङ सडक सञ्चालनमा आएका छन् । दुवै सडकको पहिरो र अवरोध हटाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

कालीगण्डकी गाउँपालिका–१ गरगरेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको थियो । त्यस्तै, सत्यवती गाउँपालिका–६ डहरे खोलाको बहाव बढ्दा बुटवल–बुर्तिवाङ सडक अवरुद्ध भएको थियो । पटक–पटक खस्ने पहिरो र डहरे खोलाले बगरको कालो माटो बगाउँदा दुवै सडक प्रायः दिनहुँजसो अवरुद्ध हुँदै आएका छन् ।

डहरे खोलामा पुल निर्माण भइरहेको छ । पुल सम्पन्न भएपछि पटक–पटक हुने अवरोध समाधान हुने अपेक्षा गरिएको छ । तर, कालीगण्डकीको गरगरे पहिरोका लागि दीर्घकालीन समाधान खोज्नुपर्ने देखिन्छ ।

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully