पहिरोले गुल्मीका तीन स्थानका सडक खण्ड अवरुद्ध भएका छन् ।
गुल्मी — कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी सडक खण्ड पहिरोले अवरुद्ध भएको छ ।
आइतबार साँझदेखि गरगरे, मुल्क र कनाैटामा पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । अवरुद्ध उक्त सडक खण्ड कालीगण्डकी गाउँपालिका वडा नम्बर १, २ र ३ मा पर्दछ ।
त्यसैगरी, सत्यवती गाउँपालिका वडा नम्बर ६ स्थित डहरे खाेला सडक खण्ड पनि अवरुद्ध भएको छ । यो बुटवल-बुर्तिवाङ सडक खण्डकाे रुद्रवेणी-वामी खण्ड हो । त्यसैगरी, रुरुक्षेत्र गाउँपालिका-३ सल्लेरीमा पनि सडक अवरुद्ध भएको छ । यो बुटवल-गुल्मी सडकखण्डकाे रिडी-तम्घास सडक खण्ड हो । यो खण्डमा वैकल्पिक सडक प्रयाेग गरिएको छ ।
गुल्मीसहित आसपासमा आइतबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकोले पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
