नयाँ कार्यसमितिमा रूपन्देहीका नयाँ र पुराना कीर्तिमानधारी खेलाडी चयन भएका छन्, जसले आगामी योजनामा विशेष ध्यान दिनेछन् ।
भैरहवा — लोकतान्त्रिक खेलकुद संघ रूपन्देहीको नयाँ कार्यसमिति चयन भएको छ । भैरहवामा आयोजित अधिवेशनबाट कमल जीसीको नेतृत्वमा १७ सदस्यीय नयाँ समिति निर्वाचित बनेको हो ।
यसअघि रहेको तदर्थ समिति नै अधिवेशनबाट नयाँ कार्यसमितिमा निर्वाचित भएको संघले जनाएको छ । समितिमा रूपन्देहीमा रहेका नयाँ र पुराना कीर्तिमानधारी खेलाडी छनोट भएका छन् ।
संघको उपाध्यक्षद्वयमा मुकेश कुँवर र खुश्बु चौधरी, सचिवमा दीपक काफ्ले, कोषाध्यक्षमा प्रियबन्धु न्यौपाने र सह–सचिवमा अर्जुन कुँवर निर्वाचित भएका छन् ।
अध्यक्ष जीसीका अनुसार सदस्यमा मोतीकला गुरुङ, सरस्वती लामगादे, नारायण थापा, रमेश पन्त, कपिल गौतम, बुद्ध महर्जन, रामप्रसाद कहार, संदेश पोखरेल, विकास नारायण श्रेष्ठ, निरज नारायण श्रेष्ठ र प्रभात गुरुङ निर्वाचित भएका छन् ।
संघका अध्यक्ष जीसीले नयाँ समितिले रूपन्देही जिल्लाभर खेल गतिविधिलाई तीव्रता दिनुका साथै विगतमा भैरहवामा सञ्चालन भएर हराएका खेल प्रतियोगितालाई निरन्तरता दिइने जनाए । ‘हाम्रो कार्य समितिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका स्पर्धामा सहभागी भइसकेका खेलाडी चुनिनुभएको छ,’ उनले भने, ‘उहाँहरूको सम्मानका लागि भए पनि हामीले खेल प्रतियोगितालाई जोड दिनेछौं ।’
