नुवाकोट र वसन्तपुरमा केबलकार र पूर्वाधार विकासले पर्यटकीय आकर्षण बढ्दै छ भने आन्तरिक र बाह्य पर्यटकको संख्या दिनप्रतिदिन थपिँदो छ ।
What you should know
बुटवल — ७१ वर्षका दीर्घबहादुर कुमाल चुरे संरक्षित क्षेत्र नुवाकोटको तीव्र विकास देख्दा दंग छन् । पाल्पाको तिनाउ गाउँपालिका–१ नुवाकोटका उनी बाल्यकालदेखि नै नुवाकोटको डाँडामा खनिखोस्री गर्दै आएका छन् । आफूले जान्दा ८/१० घर मात्र रहेको नुवाकोटमा अहिले दैनिक घर बन्ने र होटल खुल्ने क्रम बढ्दो छ । दीर्घबहादुरले खनजोत गरेर अन्न उब्जाउने बारीमा बन्दै गरेका घरसँगै उनको विगतको भोगाइ र अहिलेको हेराइमा पनि तीव्र उचारचढाव छ ।
दीर्घबहादुर १५/१६ वर्षे जवान हुँदा नुवाकोटमा थोरै घर र धेरै जंगल थियो । तर, मानिसहरूको थामिनसक्नु भीड हुन्थ्यो । पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जालगायत पहाडबाट घिउ बोकेर खस्यौली नुन लिन झर्थे मानिसहरू । खस्यौली झर्नुअगाडि सँगै आएका मानिसको रेकर्ड राख्ने ठाउँ थियो, नुवाकोट डाँडा । घोडा, खच्चड र पैदल यात्रा गरेर आउने मानिसको चहलपहल हुन्थ्यो ।
हेर्दाहेर्दै त्यो अवस्था फेरियो । दीर्घबहादुर ३५ वर्षका लक्का जवान भए । यता बुटवल–पाल्पा सडक बन्यो । सडक खुलेपछि नुवाकोटको चमकधमक हरायो । चहलपहल देखिन छाड्यो र सुनसान बन्दै गयो । समयको गतिसँगै अवस्था पनि फेरियो । दीर्घबहादुरको उमेर चढ्दै गयो । उनी ६० वर्ष लाग्दै गर्दा बढ्न थालेको नुवाकोटको चमक अहिले तीव्र बनेको छ । दैनिक ५० मोटरसाइकल, १५/२० कार/जिप पुग्ने गरेका छन् । केबलकार चढेर जानेको संख्या पनि उत्तिकै छ ।
आफ्नो उमेरको बुढ्यौलीसँगै नुवाकोटले कोल्टे फेरेर आफ्नो सान फर्काएको दीर्घबहादुरले सुनाए । ‘बैंस र ऐस फर्केर आउँछ भन्थे बुढापाका हो रैछ त,’ उनले भने । पहिला दुःख गर्दै मान्छे नुवाकोट आउने गरेकामा अहिले मोजमस्ती गर्न आउन थालेको उनले बताए । ‘जमाना भने फेरिए, उति बेला नुनका भारी बिसाउने चौपारी र रात पर्दा बास बस्ने थलो थियो नुवाकोट,’ उनले भने, ‘अहिले त दुखेको मनलाई यहाँ ल्याएर हल्का गराउने र मोजमस्ती गर्ने थलो पो भयो ।’ अहिले नुवाकोटमा बुटवलबाट ४ घण्टाको पैदल हिँडाइदेखि हाइकिङ गर्दै पुग्नेहरू पनि छन् । केबलकार चढेर जाने पनि छन् र ८ किलोमिटरको सडक यात्रा गर्दै पुग्नेहरू पनि पर्याप्त छन् ।
पैदल, केबलकार र सवारीसाधनमार्फत जाने मानिसको संख्या बढ्दै गएपछि अहिले नुवाकोट आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनिरहेको छ । नुवाकोटमा जानेहरूका लागि होटल, रेस्टुराँ र होमस्टे सञ्चालनमा छन् । अंग्रेज युद्धको इतिहाससँग जोडिएको नुवाकोट डाँडामा पछिल्ला ५ वर्षयता पूर्वाधारको विकास, होटल, रेस्टुराँ र मनोरञ्जनका क्षेत्रमा लगानी गर्नेहरूको संख्या बढ्दो छ । नुवाकोटमा मात्र पछिल्लो २ वर्षमा सानाठूला गरी १२ वटा रेस्टुराँ थपिएका छन् । तिनमा बुटवल र पाल्पाका युवा व्यवसायीको २५ लाखदेखि २ करोडसम्म लगानी छ ।
नुवाकोट जस्तै चुरे क्षेत्रमै पर्ने बुटवलको शिरमा रहेको अर्को वसन्तपुर डाँडा पनि दुई वर्षदेखि गुल्जार बन्दै छ । साँझ परेपछि वसन्तपुर डाँडोमा बल्ने बत्तीले भैरहवा सहरलाई पहाडको नजिकै पुर्याएको आभाष दिलाउँछ । वसन्तपुरबाट देखिने बुटवलको झिलिमिली र सिद्धार्थ राजमार्गमा जोडिएका सडकबत्तीसँगै डोर्याउँदै क्षणभरमै भैरहवासम्म पुर्याउँछ ।
वसन्तपुरबाट देखिने दृश्यावलोकन जत्तिको मनमोहक छ, तर वसन्तपुरमा स्थानीयको बस्ती र चहलपहल भने छैन । २/३ घर मात्र स्थानीय छन् । झन्डै ८/१० घरलाई लुम्बिनी केबलकारले मुआब्जा दिएर अन्यत्रै सारेको छ । केबलकारको मात्र व्यावसायिक क्षेत्र रहेको वसन्तपुरले भारतीय पर्यटकको आकर्षण बढाइरहेको छ । बुटवलको उखरमाउलो गर्मीबाट केबलकार चढेर बुटवलबाट १० मिनेटमै वसन्तपुर पुग्न सकिने भएकाले भारतीय पर्यटकहरू चिसोको आनन्द लिन वसन्तपुर पुग्ने गरेका छन् । यहाँ बास बस्न मिल्ने ठूला होटल छैनन् । तर, साना रेस्टुराँ भने केबलकार कम्पनीकै स्वामित्वमा चलिरहेका छन् । लुम्बिनी केबलकार सञ्चालन गरिरहेको आईएमई ग्रुपले वसन्तपुमै ३ अर्ब बढीको लगानीमा पाँचतारे होटल खोल्ने तयारी गरिरहेको छ ।
महाभारतको चुरे क्षेत्रमा पर्ने यी दुवै डाँडामा पछिल्ला २ वर्षमा व्यावसायिक आकर्षणले तीव्र रूपमा गति लिएको छ । नुवाकोटमा बुटवल उपमहानगरपालिका र पाल्पाको तिनाउ गाउँपालिकाले पूर्वाधार विकासमा प्राथमिकता दिइरहेका छन् । केबलकारसँगै नुवाकोट जोड्न बुटवलतर्फबाट सडक निर्माण भएर कालोपत्र पनि भइसकेको छ । नुवाकोट र वसन्तपुर दुवै डाँडालाई छुट्टाछुट्टै दुई केबलकारले जोडेपछि बुटवलको सामीप्यमा रहेका दुई डाँडा गुल्जार बन्न थालेका हुन् ।
गुल्जारसँगै चुरे क्षेत्रमा अतिक्रमण बढ्न थालेकामा सरोकारवालाको चिन्ता बढ्दो छ । वसन्तपुरमा लुम्बिनी केबलकार सञ्चालनमा छ भने नुवाकोटमा सिद्धार्थ केबलकार चलिरहेको छ । दुवै केबलकारमा स्थानीयको लगानी र स्वामित्व भने छैन । लुम्बिनी केबलकारमा व्यवसायी चन्द्र ढकाल समूहको आईएमई ग्रुप र सिद्धार्थ केबलकारमा प्रभु ग्रुपको लगानी छ । दुवै डाँडामा केबलकारले चहलपहल बढाएपछि नुवाकोटमा रेस्टुराँ खोल्ने, पर्यटकीय क्षेत्र विस्तार गर्ने क्रम बढेको छ । त्यस्तै वसन्तपुरमा भने केबलकार ग्रुपबाटै थप पूर्वाधारका संरचना निर्माण भइरहेका छन् ।
हिमालय उत्पत्तिको क्रममा बनेको चुरे शृंखला भारतको ब्रह्मपुत्र नदीदेखि पाकिस्तानको इन्डस नदीसम्म फैलिएको छ । कान्छो पहाडका रूपमा चिनिने चुरे शृंखलालाई ‘शिवलिक’ भन्ने गरिन्छ । चुरे शृंखलाले नेपालका ३६ जिल्लाका झन्डै ८ सय किलोमिटर भूभाग समेटेको छ । पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म फैलिएको चुरे शृंखला लुम्बिनीमा भने दाउन्ने पश्चिमको बर्दघाटदेखि बर्दियासम्म छ । यसको उत्तर–दक्षिण चौडाइ डाँडाअनुसार १० देखि १५ किलोमिटरसम्म छ । दाउन्ने पश्चिममा फुकेर रहेको चुरे क्षेत्र दाङको देउखुरी पुग्दा साँघुरो घाँटी बन्दै बाँके र बर्दिया क्षेत्रमा फेरि फुकेको छ । समथर तराईबाट उत्तरतर्फ देखिने होचा पहाडका शृंखला हुँदै दक्षिणतिरका होचा पहाड, समथर मैदानी भाग, खोंच र दुनलाई चुरे क्षेत्रका रूपमा संरक्षण गर्ने गरिएको छ ।
तिनै तराईको समथर जमिनको नजिकै बनेका अग्ला र हरियाली डाँडामा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दै गएपछि गुल्जार बन्न थालेका हुन् । नुवाकोट, वसन्तपुर जस्तै नारायणी पश्चिमदेखि बर्दियासम्मका झन्डै एक दर्जन चुरेका पहाडमा अहिले व्यावसायिक होटल–रेस्टुराँ खोल्ने, पर्यटकीय पूर्वाधारको विकास गर्ने शृंखला पनि बढ्दै गएको हो ।
नारायणी पश्चिम नजिकैको गैंडाकोटमाथिको चुरे डाँडामा आईएमई ग्रुपले नै मौलाकालिका केबलकार सञ्चालन गरेको छ । ग्रुपकै एक अर्बभन्दा बढी लगानीमा चुरे क्षेत्रको जंगलमै इला होटल एन्ड रिसोर्ट पनि सञ्चालनमा छ । मौलाकालिका धार्मिक स्थल पनि हो । त्यसले पनि चुरेको क्षेत्रलाई धार्मिक पर्यटन पूर्वाधारका रूपमा विकास गरिरहेको छ । त्यस्तै चुरेको दाउन्ने क्षेत्र, बर्दघाटको संसारकोट, सुनवलको घैयाबारी, रूपन्देहीको सैनामैनामाथिको झिंगामारा, कपिलवस्तुको धानखोला क्षेत्र, दाङको राप्ती गाउँपालिका–९ को देवीकोटलगायतमा मानव बस्ती विकाससँगै होटल, रेस्टुराँ खुलिरहेका छन् ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ मा पर्ने संसारकोट बर्दघाट बजारबाट ६ किलोमिटर दूरीमा पर्छ । त्यहाँ स्थानीय व्यवसायीले लोकल कुखुरा पाल्ने र त्यसकै परिकार त्यहाँ पुग्ने आन्तरिक पर्यटकलाई खुवाउने गरेका छन् । त्यस्तै सुनवल नगरपालिकाको सुनवल बजारबाट ८ किलोमिटरको दूरीमा पर्ने घैयाबारीमा पनि रेस्टुराँ खुलेका छन् ।
पाल्पाको सिमानामा पर्ने घैयाबारीबाट पाल्पा र तराईका धेरै क्षेत्रको दृश्यावलोकन गर्न सकिने भएकाले पनि आकर्षण बढ्दो छ । घैयाबारीमा स्थानीयको पनि बसोबास छ । रूपन्देहीको मुर्गिया बजारबाट झन्डै १२ किलोमिटरको दूरीमा पुग्न सकिने पाल्पाको तिनाउ गाउँपालिका–१ झिंगामारामा पनि पछिल्लो समय होटल तथा रेस्टुराँ खुल्ने क्रम बढिरहेको छ ।
होटल क्षेत्रमै ख्याति कमाएको पौवा होटल प्रालिले झिंगामारामा २ अर्बभन्दा बढी लगानी गर्ने गरी पाँचतारे होटल खोल्ने तयारी गरिरहेको छ । पौवाले होटल खोल्ने तयारी गरेको क्षेत्र पूरै चुरे पहाड हो । पछिल्ला वर्षमा पहाडको हरियाली र शीतलताले भारतीय पर्यटकलाई आकर्षण गरिरहेकाले आफूहरूले चुरे पहाडमा लगानी गर्ने तयारी गरेको पौवा होटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव न्यौपानेले बताए ।
‘हामीले झिंगामारामा ३ सय ५० रोपनी जग्गा खरिद गरिसकेका छौं,’ उनले भने, ‘विस्तृत परियोजना तयार गरेर निर्माणको काम सुरु गर्दै छौं ।’ पर्यटन व्यवसायका लागि तराईसँग जोडिएका चुरेका पहाड अहिले उपयुक्त क्षेत्र बनेको उनको भनाइ छ ।
दाङको राप्ती गाउँपालिका–९ स्थित देवीकोट पनि पछिल्लो समय पर्यटकीय आकर्षणको केन्द्र बनिरहेको छ । रिडी राप्ती ग्रुप प्रालिले झन्डै दुई करोडको लागतमा राप्ती एग्रो रिसोर्ट र प्याराग्लाइडिङसहितको योजना अघि बढाएपछि देवीकोटमा आकर्षण बढ्दै गएको छ । देवीकोटलाई पोखरापछिको उत्कृष्ट प्याराग्लाइडिङका रूपमा विकास गर्न सकिने र त्यो लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्य बन्ने सम्भावना देखिएको रिडी राप्ती ग्रुप प्रालिका अध्यक्ष मानबहादुर बुढा मगरले बताए ।
‘चुरे क्षेत्रमा पर्ने देवीकोट आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना देखिएपछि हामी त्यसमा लगानीका लागि उत्साहित भएका हौं,’ उनले भने, ‘प्याराग्लाइडिङको सफल परीक्षण उडान गरिसकेका छौं । दुई करोडभन्दा बढीको लागतमा रिसोर्ट पनि खोल्दै छौं ।’ चुरेका डाँडाकाँडाको उपयोग गर्दै पर्यटक रमाउन सक्ने पूर्वाधार तयार हुँदा त्यहाँबाट देखिने मनमोहक राप्तीका फाँट, राप्ती नदी, बंगलाचुली र भारतका भूभागले पर्यटकलाई आकर्षण गर्ने उनले जनाए ।
चुरे क्षेत्रअन्तर्गत रहेका तराई नजिकका पहाडले शीतलता र तराईको दृश्यावलोकनसँगै आकर्षण बढाइरहेको छ । मौलाकालिकादेखि वसन्तपुर, नुवाकोट, झिंगामार हुँदै देवीकोटसम्मकै चुरेका डाँडामा १२ महिना नै सिरसिर चिसो हावा चलिरहन्छ । तराईको समथर जमिनमा ४० डिग्री तापक्रम हुँदा चुरेका डाँडामा बढीमा २५ डिग्रीसम्म मात्र हुन्छ । त्यसले स्वदेशीसँगै भारतीय पर्यटकलाई तान्ने भएकाले पनि चुरेका पहाडमा होटल व्यवसाय खुल्ने क्रम बढेको बुटवलका होटल व्यवसायी एवं नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले बताए ।
‘चुरेलाई संरक्षण गर्ने हाम्रो दायित्व हो,’ उनले भने, ‘त्यसको संरक्षण गर्दै उपयोगिता पनि लिनुपर्छ । त्यसैले पनि चुरे क्षेत्रको आवादी जमिनमा अहिले व्यवसाय गर्नेहरू बढ्दै गएका हुन् ।’ नुवाकोटमा खोलिएका अधिकांश होटल रेस्टुराँ निजी जमिनमै खोलिएको र चुरेको क्षेत्र अतिक्रमण नभएको नेपालको भनाइ छ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यक्रम कार्यान्वयन इकाइ कार्यालय बुटवलले लुम्बिनी प्रदेशअन्तर्गतका ९ जिल्लामा पर्ने चुरे क्षेत्रमा संरक्षणको काम गर्दै आएको छ । ९ जिल्लाका ५४ वटा पालिका कार्यालयको कार्यक्षेत्रभित्र पर्छन् । चुरेमा मानव बस्ती र पूर्वाधार निर्माणले भइरहेको अतिक्रम नियन्त्रण गर्ने वा त्यसको अध्ययन गर्ने कार्यक्षेत्र वन कार्यालय र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिअन्तर्गत नै रहेको कार्यक्रम कार्यान्वयन इकाइ बुटवलका प्रमुख अणनाथ बरालले बताए ।
‘चुरेका डाँडामा मानव बस्ती र पूर्वाधारका काम बढ्दो छ,’ बरालले भने, ‘अनियन्त्रित बस्ती, पूर्वाधार विकास, खानीजन्य उत्खनन, नदी दोहन चुरे अतिक्रमणका प्रमुख चुनौती हुन् ।’ तर त्यसको नियमन र नियन्त्रणको अधिकारसमेत चुरे संरक्षण कार्यान्वयन इकाइ कार्यालयलाई नभएको र त्यसको अनुगमन, नियन्त्रणको काम समितिको बोर्ड र वन कार्यालयबाट मात्र हुने गरेको उनले जनाए ।
चुरे शृंखला आफैंमा पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्र चट्टानले बनेको क्षेत्र हो । त्यसैले यो प्राकृतिक रूपमा अत्यन्तै संवेदनशील मानिन्छ । चुरेको संवेदनशीलतालाई बेलैमा बुझ्न नसके त्यसले ठूलो मानवीय विपत्ति निम्त्याउने वातावरण अध्येता युवराज कँडेलले बताए ।
