करेन्ट लगाएर बाँदर धपाउनेलाई कारबाही गरिने

स्थानीय तह र राजनीतिक दलले ठोस योजना नल्याउँदा किसानले बाँदरबाट अन्नबाली जोगाउन नसकेको गुनासो गरिरहेका छन्।

श्रावण १५, २०८२

वीरेन्द्र केसी

Action will be taken against those who chase away monkeys by applying electricity

What you should know

अर्घाखाँची — बाँदर धपाउन मकैबारीमा विद्युतीय करेन्ट प्रवाह गर्ने किसानलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने भएको छ । बारीका पाक्दै गरेका मकै नोक्सान गरेर किसान हैरानीमा छन् । बाटो, चौतारो, गौंडा, डाँडाकाँडा, बारीछेउमा गाउँलेले चौकीदारी गरेरै बाँदर लखेट्ने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले बाँदर धपाउन किसानले विद्युतीय करेन्ट प्रवाह गर्ने अभ्यास गरेको भन्दै त्यसो नगर्न सतर्क गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जारी गरेको विज्ञप्तिमा अनाधिकृत रूपमा नाङ्गो तार बिछ्याएर बाँदर धपाउने काम नगर्न किसानलाई अपिल गरिएको छ ।

नाङ्गो तारले जोखिम निम्त्याउने भन्दै यस्तो कार्य गर्ने व्यक्तिलाई कानुनबमोजिम कठोर सजाय दिइने उल्लेख छ । विज्ञप्तिमा करेन्ट प्रवाह गर्ने किसानलाई स्थानीय तह, प्रहरी कार्यालय र प्रशासन कार्यालयमा उजुरी गर्न अनुरोध गरिएको छ ।

डिभिजन वन कार्यालयले बाँदर प्रभावित क्षेत्रमा २० जना बाँदर हेरालु दस्ता तीन महिनाका लागि खटाएको छ । सन्धिखर्क, भुमिकास्थान, पाणिनी, मालारानी र छत्रदेव गाउँपालिकामा बाँदरको बिगबिगी नै छ । स्थानीयका अनुसार घरपरिवार र गाउँलेले चौकीदारी गरे पनि बाँदरको ठूलो बथानलाई मकैबारीमा छिर्नबाट रोक्न नसकेको गुनासो छ । वन्यजन्तुले अन्नबाली नोक्सान गरिदिएर हैरानी बनाएकाले मकै जोगाउन मुस्किल परेको छ।

केही दिनअघि अर्घाखाँची कांग्रेसले बाँदर धपाउने उपाय खोजिदिन भन्दै प्रमुख जिल्ला अधिकारी गोपाल अर्याललाई ज्ञापनपत्र बुझाएको थियो । स्थानीय तह, प्रशासन, राजनीतिक दल लगायत सम्बन्धित निकायलाई किसानले वन्यजन्तुको कारण अन्नबाली जोगाउन नसकिएको गुनासो गरे पनि ठोस उपाय निकाल्न सकेका छैनन् ।

सामुदायिक वनको साझेदारीमा डिभिजन वन कार्यालयले २० जना हेरालु खटाए पनि स्थानीय तहले भने बाँदर नियन्त्रण र बारीको मकै जोगाउने बारेमा केही काम, योजना अघि सारेका छैनन् ।

वीरेन्द्र

Link copied successfully