पाल्पामा भाइरल ज्वरो, डेंगी र स्क्रबटाइफसका बिरामी बढे

जिल्ला सदरमुकामस्थित पाल्पा अस्पतालमा सिजनल फ्लु अन्तर्गत भाइरल ज्वरोका बिरामी उपचारका लागि अत्यधिक आउने गरेका छन् ।

श्रावण १३, २०८२

माधव अर्याल

Cases of viral fever, dengue and scrub typhus increased in Palpa

What you should know

पाल्पा — पाल्पामा दुई सातायता भाइरल ज्वरो, स्क्रबटाइफस र डेंगी संक्रमणका बिरामीको संख्या बढेको छ ।

जिल्ला सदरमुकामस्थित पाल्पा अस्पतालमा सिजनल फ्लु अन्तर्गत भाइरल ज्वरोका बिरामी उपचारका लागि अत्यधिक आउने गरेका छन् । 

दैनिक ३ सय ५० देखि ५ सय बिरामी आउने गरेको पाल्पा अस्पतालमा झन्डै सय जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेको डा. विवेक पौडेलले बताए । उनका अनुसार साउन लागेपछि भाइरल ज्वरोका बिरामी उपचारका लागि बढी आउने गरेका छन् । ‘बिरामीको लक्षण डेंगी, स्क्रबटाइफसको जस्तो देखिन्छ,’ उनले भने, ‘तर डेंगी, स्क्रबटाइफस पोजेटिभ कमै देखिएको छ ।’ अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामीमा १०४ डिग्रीसम्मको ज्वरो आएको भेटिएको छ । 

अस्पतालमा १५ देखि २० जनासम्म बिरामी भर्ना गरेर राख्ने क्षमता छ । त्यसबाहेक उपचारका लागि आउने बिरामीलाई औषधी दिएर घर पठाउने वा अन्यत्र रिफर गर्नुपर्ने अवस्था भएको डा. राजेन्द्र पौडेलले बताए । उनका अनुसार सिजनल फ्लुका बिरामीलाई भर्ना गरेर उपचार गरिएको छ । ‘धेरै जना बिरामीलाई लामो समयसम्म ज्वरो सञ्चो नहुने समस्या देखिएको छ,’ उनले भने, ‘त्यस्ता बिरामीलाई भर्ना गरेर उपचार गरिएको छ ।’

तानसेन भुसालडाँडास्थित युनाइटेड मिसन अस्पतालमा पनि साउन लागेसँगै भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । डेंगी, स्क्रबटाइफसका बिरामी पनि साउन लागेसँगै धेरै आउने गरेका छन् । चिकित्सकका अनुसार अस्पतालमा आउने ३ सय बिरामीमा ४० देखि ५० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । 

लुम्बिनी मेडिकल कलेजमा पनि भाइरल ज्वरोका बिरामी उपचारका लागि धेरै आउने गरेका छन् । भर्ना हुनेभन्दा पनि उपचारका लागि आउनेहरुमा ज्वरोका बिरामी बढी आउने गरेको अस्पतालकी मेट्रोन शिखा पहारीले बताइन् । उनका अनुसार इमर्जेन्सीमा उपचार गर्न आउनेमध्ये २० प्रतिशतमा भाइरल ज्वरोका बिरामी भेटिने गरेको छ । 

रामपुर अस्पतालमा पनि भाइरल ज्वरोका बिरामी बढेको अस्पतालले जनाएको छ । विगतमा फाट्टफुट्ट देखिएको डेंगी संक्रमण दुई सातामा हृवात्तै बढेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुदन भट्टराईले बताए । उनका अनुसार गत पुस दोस्रो सातादेखि असार तेस्रो सातासम्म १ सय २० जना डेंगी संक्रमित रहेकामा साउनको दोस्रो सातासम्म १ सय ७६ पुगेको छ । जनवरीमा २, फ्रेबुअरीमा ६, मार्चमा ७, अप्रिलमा ११, मेमा २३, जुनमा ३२, जुलाईमा ९५ जनामा डेंगी संक्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

अघिल्लो वर्ष पाल्पामा डेंगी संक्रमित ४ सय ६२ पुगेका थिए । युनाइटेड मिसन अस्पतालमा सबैभन्दा धेरै डेंगी संक्रमित बिरामी देखिएका थिए । यस वर्ष पनि डेंगी संक्रमित मिसन अस्पतालमै भेटिएका छन् ।  अघिल्लो आर्थिक वर्षमा मिसन अस्पतालमा मात्र डेंगीका ४ सय २३ जना पोजेटिभ बिरामी उपचार गराएका थिए । मिसन अस्पतालमा असार अन्तिम सातासम्म स्क्रबटाइफसका ४ सय २३ जना बिरामी पोजेटिभ देखिएका थिए तर २ सय ५९ जना भर्ना भएर उपचार गराएका थिए । 

मिसन अस्पतालमा स्क्रब टाइफसका पोजेटिभ देखिएका बिरामीसमेत बढेका छन् । दुई साता अघिसम्म भर्ना भएका बिरामी नै नहुने पाल्पा अस्पतालमा अहिले बेड पाउनै मुस्किल छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार असार साउनमा डेंगी र स्क्रबटाइफसका बिरामी बढ्ने गर्छन् । अघिल्लो वर्ष २ सय ६९ जना स्क्रबटाइफसका बिरामी भेटिएका थिए भने यस वर्ष साउनको दोस्रो सातासम्म १ सय ६६ बिरामी पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully