सामाजिक विकास मन्त्रालयको चालु र पुँजीगत खर्चमा सुधार

आर्थिक वर्ष २०८१/०८२ मा मन्त्रालयले कुल बजेटको ६९.१ प्रतिशत खर्च गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले बढी हो

श्रावण १२, २०८२

दीपेन्द्र बडुवाल

Improvement in current and capital expenditure of the Ministry of Social Development

What you should know

भैरहवा — लुम्बिनी प्रदेशस्थित सामाजिक विकास मन्त्रालयको कार्यसम्पादनमा सुधार देखिएको छ । मन्त्रालयले विगतको तुलनामा गतवर्ष चालु र पुँजीगत खर्चमा बृद्धि भएको जनाएको छ ।

मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आव २०८१/०८२ मा ८ प्रतिशतले खर्चमा सुधार गरेको हो ।अघिल्लो वर्ष चालु र पुँजीगत गरी ६१ दशमलव ५ प्रतिशत बजेट खर्च भएको थियो । २०८१/०८२ मा ६९ दशमलव १ प्रतिशत खर्च गरेको छ । मन्त्रालयका महाशाखा प्रमुख रामहरि रिजालले २०८०/०८१ मा चालुतर्फ ६४ दशमलव ३ प्रतिशत खर्च गरिएको थियो । २०८१/०८२ मा चालु तर्फ ७१ दशमलव ७ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ अघिल्लो वर्ष ४९ दशमलव ५ प्रतिशत र गत वर्ष ६५ दशमलव २ प्रतिशत खर्च भएको उनले बताए । 

मन्त्रालयका अनुसार २०८०/०८१ मा चालुतर्फ २ अर्ब ६ करोड ४९ लाख बजेटमध्ये १ अर्व ३२ करोड ७४ लाख रुपैयाँ खर्च भएको थियो । २०८१/०८२ मा १ अर्ब ७६ करोड ४९ लाख मध्ये १ अर्व २६ करोड ४९ लाख रुपैयाँ खर्च भएको छ । यसैगरी पुँजीगत खर्चतर्फ अघिल्लो वर्ष ४७ करोड ६९ लाखमध्ये २३ करोड ६२ लाख र गत वर्ष १ अर्व १५ करोड ५२ लाख बजेटमध्ये ७५ करोड २८ लाख रुपैयाँ खर्च भएको रिजालले जनाए ।

अघिल्लो वर्ष कुल ४ सय १९ वटा सञ्चालित आयोजनामध्ये २ सय ८३ वटा पूरा भएका थिए । जसमध्ये १ सय १४ वटा आयोजना चालु अवस्थामा छन् । भने २२ वटाको काम नै भएन । २०८१/०८२ मा ९ सय ५७ वटा आयोजनामध्ये ५ सय २६ वटा पूरा भइसकेका छन् भने ३ सय ४८ आयोजना चालु अवस्थामा छन् । ८३ वटा आयोजनाको काम हुन सकेको छैन ।

२०८१/०८२ मा लुम्बिनी प्रदेशका विद्यालयको संरचना निर्माणतर्फ नयाँ कक्षाकोठा (भवन) निर्माण ३ सय ९०, शौचालय ५०, विद्यालय भवनमर्मत ८२, सूचनाप्रविधि ल्याब स्थापना १२, विज्ञान प्रयोगशाला निर्माण ११, पुस्तकालय निर्माण ४, विद्यालय स्वास्थ्य सेवा २०, व्यवसायिक तथा सीपमूलक तालिम ५७ वटा, शिक्षक तालिम ४२ वटा समूह, प्रदेशबाट प्राप्त क्षमता विकास तालिम ४ वटा समूहमा भएका छन् ।

अघिल्लो आवमा विद्यालय स्वास्थ्य सेवा शून्य रहेकामा २०८१/०८२ मा २० वटा बनेका छन् । ‘गतवर्ष मन्त्रीज्यु केही ढिलो गरी मन्त्रालयको जिम्मेवारीमा आउनुभएको थियो, विविध कारण त्यतिबेलासम्म मन्त्रालयको काम त्यति प्रभावकारी थिएन,’ मन्त्रालयका महाशाखा प्रमुख रामहरि रिजालले भने, ‘मन्त्रीज्यु आइसकेपछि कामले तीव्रता पायो । धेरै काम प्रभावकारीरुपमा सम्पादन गर्न सक्यौं ।’

सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले अघिल्लो वर्षको तुलनामा गत वर्ष एसईईको नतिजामा उपलब्धिमूलक रहेको बताए । ‘सामुदायिक विद्यालयका शिक्षकलाई अझ जिम्मेवार र विद्यार्थीलाई थप मेहनती बनाउने उद्देश्यअनुरुप शैक्षिक कार्यक्रम र योजना ल्याइएको छ,’ मन्त्री तिमिल्सिनाले भने, ‘विगतको अनुभवले भविष्यको परिपक्क योजना बनाउने र बजेटको दुरुपयोग नियन्त्रण गरि योजनालाई चालु वर्षमा मितव्ययी र पारदर्शी बनाइनेछ ।’ आफूले मन्त्रालय सम्हाल्दा खर्च प्रगति १० प्रतिशतभन्दा थोरै भएको र योजनाबद्ध काम गर्दा खर्चमा सुधार भएको जनाए ।

उनका अनुसार महिला परिषद् गठन आदेश, बरघर ऐन, नवप्रवर्द्धन केन्द्र स्थापना र सञ्चालन लगायतका कार्यविधिहरुको तर्जुमा प्रक्रिया अगाडि बढाइएको छ ।

दीपेन्द्र

Link copied successfully