सुधारगृहमा बाल कैदीले गरे आत्महत्या

उनी एक वर्षदेखि बाल सुधारगृहमामा नाइकेको जिम्मेवारीमा थिए

श्रावण ११, २०८२

सन्जु पौडेल

A child inmate committed suicide in a correctional facility

तिलोत्तमा — रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रदेशस्तरीय बालसुधार गृहमा एकजना बाल कैदीले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार शनिबार बालक (उमेरले युवा भए पनि मुद्दा दर्ता हुँदा बालक भएकाले बालकै भनिन्छ) ले आत्महत्या गरेका हुन् ।

दिउँसो २ बजेतिर सिद्धार्थनगर नगरपालिका–७, तिनतारापथस्थित बाल सुधार गृहमा २१ वर्षीय सन्दीप गोसाईले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । दिउँसो सुधारगृहमा रहेका बालकको गन्ती गरी जाँच गर्ने क्रममा सुधार गृहको तेस्रो तल्लाको टिनले छाएको स्टोर कोठामा फलामको पाइपमा नरिवलको डोरीले पासो लगाई झुन्डिएको अवस्थामा गोसाईलाई फेला पारिएको डीएसपी सापकोटाले जनाए ।

गोसाई रुपन्देहीको सम्मरीमाई गाउँपालिका–४ का थिए । उनी जबरजस्ती करणी मुद्दामा कैदी जीवन कटाइरहेका थिए । प्रहरीका अनुसार मृतक गोसाईले १ वर्षदेखि सुधारगृहमा मोनिटर (नाइके) का रुपमा जिम्मेवारी वहन गर्दै भित्रको रेखदेख गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully