पूरा नभएन १२ गते साँझ कोषका सबै गाडी कोष परिसरमा थन्क्याउने चेतावनी
लुम्बिनी — विभिन्न माग राखेर लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलित बनेका छन् । लुम्बिनी विकास कोष कर्मचारी युनियनले आह्वान गरेको विरोधका कार्यक्रमअन्तर्गत साउन ८ र ९ गते हातमा कालोपट्टी बाँधेर कामकाज गरेका छन् ।
माग पूरा नभए साउन १२ र १३ गते पेनडाउन गर्ने कार्यक्रम रहेको कोष कर्मचारी युनियन अध्यक्ष अब्दुल ओफाले बताए । यति गर्दा पनि माग पूरा भएन भने १२ गते साँझ ४ बजे कोषका सबै गाडी कोष परिसरमा थन्काउने र १३ गते कोषको प्रधान कार्यालय र आवास क्षेत्रमा तालाबन्दी गर्ने उनको भनाइ छ । अहिलेसम्म कोष प्रशासनले समस्या समाधान गर्न कुनै पहल नगरेको उनले बताए ।
कर्मचारी युनियनले सञ्चित बिदा, कोष भत्ता र महँगी भत्ता पाउनु पर्ने, ०७९ को कर्मचारी विनियमावली संशोधन गरेर उमेर हद लागू नहुने गरी सीमित प्रतियोगितात्मक परीक्षाबाट हाल सेवा करारमा रहेका सबै कर्मचारीलाई पदपूर्ति गर्नुपर्ने उनीहरुको माग छ । त्यस्तै दरबन्दी चाँडै स्वीकृत गराई सबै कर्मचारीलाई स्थायी गरिनु पर्ने र स्थायी कर्मचारीलाई बढुवा गर्नुपर्ने माग पनि छ ।
